बुटवल, पुस ११ गते । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीमा कांग्रेसका पुरानै उम्मेदवार सिफारिसमा परेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीबाट गरेको सिफारिसमा अधिकांश पुरानै उम्मेदवारको नाम सिफारिसमा परेको हो । सिफारिसमा रुपन्देहीबाट रुपन्देही–१ का लागि प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिराबहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुषा कँडेलको नाम सिफारिस भएको छ ।
गत आमनिर्वाचन २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ अब्दुल रज्जाक उम्मेदवार बन्नुभएको थियो तर उहाँ पराजित हुनुभयो । यसपालि पनि उहाँ पहिलो नम्बरमा सिफारिसमा पर्नुभएको छ । समानुपातिकतर्फ गङ्गा शाही, मणिप्रसाद शर्मा, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस पत्रमा उल्लेख छ ।
रुपन्देही–२ बाट युवराज गिरी, प्रकाश राना, चुन्नुप्रसाद पौडेल, दीर्घबहादुर केसी, प्रजापाल गिरी, शरद भट्टराई, मुक्तिराज शर्मा पौडेल, रिता केसी क्षेत्री र सुदीप शर्माको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । पहिलो नम्बरमा सिफारिसमा पर्नुभएका युवराज गिरी पनि २०७९ सालको निर्वाचनमा पराजित उम्मेदवार हो । यस पटक पनि पार्टीले उहाँलाई पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ ।
यस्तै समानुपातिकतर्फ महेशप्रसाद श्रेष्ठ (महेश थैव), बालकुमार भण्डारी, रिता सेन वली, कविता अर्याल, समा श्रेष्ठ, चित्रबहादुर केसी, प्रसन कोइराला र रवि विश्वकर्मा सिफारिसमा पर्नुभएको छ । रुपन्देही–३ का लागि प्रतिनिधि सभातर्फ पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । उहाँ पनि यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट पराजित हुनुभएको थियो ।
यस क्षेत्रमा प्रतिनिधि सभातर्फ सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्री पनि सिफारिसमा पर्नुभएको छ । यस्तै समानुपातिकतर्फ जन्नुतन निशा धुनिया, पुष्पा थरुनी, माधवी शर्मा र रमा अर्यालको नाम सिफारिस गरिएको छ ।
रुपन्देही–४ बाट प्रत्यक्षतर्फ प्रमोदकुमार यादव, आशुतोष मिश्र, रजनी आचार्य, आरती केवटिन र गोपाल पाण्डेको नाम सिफारिस भएको छ । यसअघि प्रमोदकुमार यादव पराजित हुनुभएको थियो । अहिले पनि यादवलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ । समानुपातिकतर्फ टेकबहादुर घले, सन्तराम चमार, रामनरेशप्रसाद पासी, केतकी हरिजन, सर्वदा मोर्य, राजकुमार सिंह र अवधराम यादवको नाम सिफारिस गरिएको छ ।
यसै गरी रुपन्देही–५ बाट केन्द्रीय सदस्य भरतकुमार शाहको नाम प्रत्यक्षतर्फका लागि एकल र बसिउल्लाह मुसलमान तथा मामकला गलामी थापाको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ । शाह पनि यसअघिको निर्वाचनमा पराजित हुनुभएको थियो । समानुपातिकतर्फ पनि यसअघिकै नामलाई पहिलो नम्बरमा राखेर सिफारिस गरेको पाइएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











