काठमाडौं, पुस ९ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधानका लागि सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउन प्रस्ताव गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा उक्त प्रस्ताव राखेको जानकारी दिँदै महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका बिथोल्ने उद्देश्यले केही जिल्लामा बद्नियतपूर्वक क्रियाशील सदस्यताको काम रोकिएको बताउनुभयो । त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाएर समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।
महामन्त्री थापाले विवाद समाधान नभएका क्षेत्रमा पुरानै क्रियाशील सदस्यताको आधारमा संगठनात्मक गतिविधि अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । साथै, विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका प्रभावित पार्ने जिल्लालाई महाधिवेशनमै सहभागी हुन नदिने गरी कारबाही गर्नुपर्ने प्रस्तावसमेत आफूले राखेको उहाँले जानकारी दिनुभयो । उहाँले वडा र क्षेत्रीय अधिवेशनको कार्यतालिकामा आवश्यक संशोधन गर्न सकिने भए पनि केन्द्रीय महाधिवेशनको कार्यतालिका भने कुनै हालतमा तलमाथि नहुने स्पष्ट पार्नुभयो ।
बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री थापाले धेरै स्थानमा क्रियाशील सदस्यताको विषयमा विवाद देखिएको र केही ठाउँमा बद्नियतपूर्वक प्रक्रिया अघि बढ्न नदिइएको उल्लेख गर्नुभयो । ती स्थानमा विधानले दिएको अधिकार प्रयोग गर्दै फिल्डमा खटिने प्रतिनिधिले विवाद टुंग्याउने र त्यसबाट अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
महामन्त्री थापाका अनुसार प्रस्तावित संशोधनअनुसार पुस १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते र पुस २३ गते क्षेत्रीय अधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्न सकिनेछ । त्यसपछि तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गरिने उहाँको भनाइ थियो ।
महाधिवेशनको अन्तिम मिति हेरफेर गर्न नहुने र गर्न नपाइने स्पष्ट गर्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक जिम्मेवारी दिएको भए पनि आफैं शक्ति अभ्यास गरिरहेकोप्रति आपत्ति जनाउनु भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










