नेपालगन्ज, पुस ८ गते । बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा ती दोहोरो नाम दर्ता गराएको पाईएको हो ।
सबैभन्दा बढी नेपालगन्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकामा दोहोरो नाम दर्ता गराइएको पाइएको जनाउँदै प्रमुख शाहीले नामहरु केन्द्रमा पठाएपछि केन्द्रबाट ९९३ जनाको नाम दोहोरो परेको जानकारी आएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “हामीले नाम दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको र मतदाता नामावलीको दोहोरो नाम हटाउने काम भइरहेको छ ।”
यसैबिच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसंख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराए अनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिनुभयो ।
यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
– सिराज खान
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















