काठमाडाैं, पुस ८ गते । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेका बेला नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र सम्भव भएकाले काँग्रेसले सोही अनुसारको भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका सांसदहरूको व्यक्तिगत असन्तुष्टि वा धारणाभन्दा पनि पार्टीको संस्थागत निर्णय नै सर्वोपरि हुने जिकिर गर्नुभयो ।
नेता पौडेलले भन्नुभयो, ‘‘हामी चुनावमा नै लाग्नुपर्छ । चुनावमा देशलाई लैजाने, चुनावको वातावरण बनाउने, निष्पक्ष, स्वच्छ ढङ्गबाट गराउने कुरामा नै हाम्रो सहयोगी भुमिका हुनुपर्छ । एउटा मुख्य दलले निर्वाचनमा देशलाई लैजानका लागि के भूमिका गर्नुपर्छ रु त्यो गरेर जानुपर्छ । हामीले संस्थागत ढंगले निर्णय गरेको विषय पनि हो ।’’
सांसदहरूको समयावधि नपुगेको भन्ने गुनासो र अदालतमा हस्ताक्षर बुझाउने विषयलाई उहाँले नितान्त व्यक्तिगत विषयको संज्ञा दिनुभयो । पार्टीले सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेकाले त्यसलाई ‘क्रस’ गरेर जाने अधिकार कसैलाई नभएको उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘‘मेरो समयावधि यति थियो, त्यो मैले पूरा गर्न पाइँन भनेर अदालतमा हस्ताक्षर पठाउने कुरा उसको मौलिक विषय हो कि होइन रु मलाई लाग्छ– त्यो होइन । हामीहरूले संस्थागत ढंगबाट जे निर्णय गर्याैँ, त्यही निर्णयलाई कार्यान्वयन गर्नेगरी अगाडि बढ्नुपर्छ । यो नै हाम्रो जिम्मेवारी हो ।’’
नेता पौडेलले निर्वाचनमा जानुपूर्व पार्टीको महाधिवेशन सम्पन्न गर्नु अनिवार्य रहेको समेत बताउनु भयो । महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नसक्ने उहाँको चेतावनी छ । एमाले लगायतका अन्य दलले अधिवेशन गरिसकेको अवस्थामा काँग्रेसले पनि आफूलाई अद्यावधिक गरेर मात्र निर्वाचनमा जानुपर्ने उहाँको भनाइ छ ।
महाधिवेशनको अपरिहार्यताबारे पौडेलले भन्नुभयो, ‘‘अधिवेशन नगरी निर्वाचनमा जाँदा काँग्रेसले शर्मनाक हार हुने स्थिति व्यहोर्छ । निर्वाचन त जित्नका लागि भाग लिने हो । काँग्रेस पार्टीले जित्नकै लागि मात्रै निर्वाचनमा जान्छ भन्ने पनि होइन, तर जित्ने कुरा स्वाभाविक रूपमा प्राथमिकतामा हुन्छ । अधिवेशन गरेर निर्वाचनमा बढी सिट ल्याइन्छ, जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्याे।’’
कुराकानीका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँगको भेटको प्रसङ्ग पनि कोट्याउनुभयो । उहाँले पछिल्लो समय उठेका ‘जेन–जी’ आन्दोलन र युवाहरूको धारणाप्रति सभापति देउवा सकारात्मक रहनुभएको खुलासा गर्नुभयो ।
सभापतिसँगको कुराकानी उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘‘सभापतिजीलाई मैले भेटेको थिएँ । त्यो घटनाको संक्षिप्त समीक्षा गर्ने सन्दर्भमा सभापतिजीले मलाई ‘जेन-जी’ले बचायो नै भन्नुभयो । प्रष्ट ढंगले भन्नुभएको हो । जेन-जीका धारणाहरूप्रति, त्यो आन्दोलनप्रति सभापतिजीको असाध्यै सकारात्मक दृष्टिकोण छ । उठेका मुद्दाहरूको बारेमा उहाँले एप्रिसिएट गर्नुभएको छ ।’’
नेता पौडेलले पार्टीलाई व्यवस्थित बनाउन, नयाँ पुस्तालाई आकर्षित गर्न र नीतिगत स्पष्टताका लागि महाधिवेशनको विकल्प नभएको भन्दै तोकिएकै समयसीमाभित्र अधिवेशन प्रक्रिया अघि बढाउन सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











