12/23/2025, 16:08:18
मङ्गलबार, पुष ०८, २०८२

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : प्रदीप पौडेल


काठमाडौँ, पुस ८ गते । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।

आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व, जेन-जी आन्दोलनको भावना अनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेन-जी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गर्नुभयो । साथै उहाँले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।

पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिनुभयो । पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने जानकारी गराउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..