भैरहवा, पुस ८ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसमा सहमति जुट्न नसकेपछि प्रदेश समितिले क्षेत्र र जिल्लाबाट आएका नाम छनोट नगरी केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम प्राथमिकतासहित सिफारिस गर्न निर्देशन दिएको थियो तर प्रदेश समितिले पार्टीमा योगदान गरेका र चुनाव जित्न सक्ने सम्भावना रहेका उम्मेदवारबारे छुट्टै रायसहित सबै नाम केन्द्रमा पठाएको जनाएको छ ।
कांग्रेसको प्रदेश समितिका अनुसार रुपन्देही–३ बाट बालकृष्ण खाँणसहित छ जनाको नाम सिफारिस भएको छ । त्यस्तै सहमहामन्त्री किशोरसिंह राठौरको नाम बाँके–३ र बर्दिया–२ बाट सिफारिस गरिएको छ । बर्दिया–२ बाट राठौर र आरजु राणासहित नौ जनाको नाम केन्द्रमा पठाइएको छ ।
पश्चिम नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल र रुपन्देही–५ बाट भरत शाहको एकल नाम सिफारिस गरिएको छ तर शाहको नाममा विवाद भएपछि रुपन्देही–५ क्षेत्रीय समितिले युवा विष्णु पोखरेलसहित तीन जनाको नाम छुट्टै केन्द्रमा सिफारिस गरेको छ । गुल्मी–१ बाट भने चन्द्र भण्डारीसहित सात जनाको नाम सिफारिस भएको छ । कांग्रेसले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभातर्फ २६ र राष्ट्रिय सभातर्फ तीन गरी कुल २९ जना उम्मेदवारका लागि २४३ जनाको नाम केन्द्रीय समितिमा पठाएको छ । गुल्मीका दुई निर्वाचन क्षेत्रबाट २१ जना र रुपन्देही–५ बाट तीन जना गरी २४ जनाको नाम छुट्टै रूपमा केन्द्रमा सिफारिस गरिएको छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएका १२ मध्ये ११ जिल्लाका उम्मेदवारको सूची केन्द्रमा पठाइएको हो । उहाँले गुल्मीले तोकिएको समयभित्र सिफारिस गर्न नसकेकाले त्यहाँका उम्मेदवारको नाम केन्द्रमै छुट्टै रूपमा पठाएको बताउनुभयो ।
प्रदेश समितिका अनुसार प्रतिनिधि सभातर्फ १३९, राष्ट्रिय सभातर्फ १०४ र समानुपातिकतर्फ १८६ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरिएको छ । क्षेत्र र जिल्लाले मापदण्ड अनुसार छनोट गर्न नसकेपछि प्रदेश समितिले सूचीमा काँटछाँट नगरी सबै नाम केन्द्रमा पठाएको हो । यद्यपि पार्टीमा उल्लेख्य योगदान दिएका र चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारबारे छुट्टै रायसमेत केन्द्रमा पठाइएको सभापति पुनले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ २६ निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि गुल्मीबाहेक ११ जिल्लाबाट १३९ जनाको नाम सिफारिस गरिएको छ । गुल्मीबाट क्षेत्र नं. १ बाट सात जना र क्षेत्र नं. २ बाट १४ जनाको नाम छुट्टै सिफारिस गरिएको छ । राष्ट्रिय सभाका लागि तीन सिट मात्र आवश्यक भए पनि १०४ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ १८६ जनाको नाम पठाइएको पुनले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














