12/22/2025, 10:42:13
सोमबार, पुष ०७, २०८२

‘उम्मेदवारमा जनअपेक्षाअनुसार काम गर्न सक्ने क्षमता र पारदर्शिता हुनुपर्छ’


गुल्मी, पुस ७ गते । जेन-जी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेसँगै मुलुक राजनीतिक रुपमा फेरि निर्वाचन केन्द्रित बनेको छ । निर्वाचनलाई सफल बनाउन सरकारका सम्पूर्ण संयन्त्रहरुले केन्द्रदेखि जिल्ला तहसम्म निकै मिहिन ढङ्गबाट आवश्यक तयारी अगाडि बढाएका छन् ।

सरकारका निर्वाचन केन्द्रित गतिविधिसँगै राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारका विषयमा पनि शहरदेखि गाउँ–टोलसम्म बहस सुरु हुन थालेको छ । हालै, देशव्यापी रुपमा भ्रष्टाचार नियन्त्रण, सुशासन र जवाफदेही सरकारको माग गर्दै आन्दोलन भएको थियो । सोही अनुसार आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारहरु विशेषगरी युवा पुस्ता र आमजनताको भावना अनुरुप काम गर्ने हुनुपर्छ ।

राजनीतिक दलले उम्मेदवार छनोटको क्रममा निकै ध्यान पु¥याउनुका साथै युवा पुस्ताको भावनालाई सम्बोधन गर्ने, सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रत्याभूति दिन सक्ने उम्मेदवार छनोट गर्नुपर्छ । अहिलेसम्म परिक्षण नभएका व्यक्तिलाई उम्मेदवार हुनुपर्ने नेपाली नागरिकको अपेक्षा छ । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थीले जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्ने व्यक्ति उम्मेदवार बन्नुपर्ने बताउनुभयो । सोही अनुसार संविधान संशोधन गर्न सकेमा भविष्यमा उपलब्धी हुनेछ ।

आगामी निर्वाचनमा भाग लिने उम्मेदवार सुयोग्य, सुशिक्षित, सदाचारी, सद्गुणी, निःस्वार्थी, जनप्रिय र दूरदर्शी हुन आवश्यक छ ।” उहाँले भन्नुभयो, “अहिले देशमा भइरहेको भ्रष्टाचार, बेथिति, बेरोजगारी, दलहरुको भागभण्डा र राजनीतिकरणले गर्दा जनतामा चरम निराशा र आक्रोश व्याप्त भएको हुँदा आगामी नेतृत्वले विशेष ध्यान दिनुपर्छ ।” नेतृत्व गर्ने व्यक्तिहरुले पुराना खराब प्रवृत्तिहरुको पुनरावृत्ति नगरुन् भन्ने आम नागरिकको चाहना छ ।

अधिवक्ता हिरा कुँवरले उम्मेदवारमा जनअपेक्षा अनुसार काम गर्न सक्ने क्षमता, निस्वार्थता र पारदर्शिता हुनुपर्ने बताउनुभयो । “भ्रष्टाचारमा लिप्त नभएको, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताप्रति स्पष्ट बुझाइसँगै जनताको हितका लागि जोखिम मोलेर काम गर्न सक्ने व्यक्तिलाई दलहरुले उम्मेदवार बनाउनुपर्छ ।” उहाँले भन्नुभयो, “युवा रोजगारीको अभावमा विदेशिन बाध्य छन् । वैदेशिक रोजगारले पारिवारिक विखण्डन बढाएको हुँदा युवा पलायनलाई रोक्न ठोस नीति अहिलेको आवश्यकता हो ।
सुरक्षा र लगानीको वातावरण निर्माण गर्न सक्ने नेतृत्व अहिलेको आवश्यक हो । निर्वाचन जितेपछि पनि प्रतिनिधि जनसम्पर्कमा रहने हुनुपर्छ ।

पटक–पटक एउटै व्यक्ति दोहो¥याउने प्रवृत्तिको अन्त्य गर्नुका साथै खर्चिलो र भड्किलो निर्वाचन प्रणाली नियन्त्रण गर्न दल र नियमनकारी निकाय गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले युवा पुस्ताको भावना सम्बोधन गर्ने, सुशासन र भ्रष्टाचार नियन्त्रणको स्पष्ट प्रत्याभूति दिन सक्ने तथा अहिलेसम्म परिक्षण नभएका उम्मेदवारप्रति नै जनअपेक्षा रहेको बताउनुभयो ।

दलिय स्वार्थभन्दा माथि उठ्न सक्ने, स्वच्छ र निर्विवाद छवि भएका व्यक्तिलाई अघि सार्नुपर्ने अहिलेको आवश्यकता हो ।” उहाँले भन्नुभयो, “कुशासन र विकृतिलाई अन्त्य गर्ने नयाँ पुस्ताका नविन चेतनासँगै जनअपेक्षा अनुसार काम गर्ने उम्मेदवारको आवश्यक छ ।” त्यसैगरी शोधार्थी गणेश श्रीपालीले जनतालाई आशा जगाउने स्पष्ट योजना भएको, युवा पंक्तिलाई गोलबन्द गर्न सक्ने सुशासनको एजेण्डा बोकेको र नैतिक सदाचारयुक्त उम्मेदवार आवश्यक रहेको बताउनुभयो । लागू गर्न नसकिने सपना होइन, कार्यान्वयन गर्न सकिने योजनामात्र अघि सार्न सक्ने नेतृत्वको आवश्यकता रहेको उहाँको भनाइ छ ।

जेन-जी गुल्मीका अगुवा गोकर्ण नेपालीले भुइँमान्छेको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा प्रभाव पार्न सक्ने उम्मेदवार हुनुपर्ने बताउनुभयो । “भुगोल र स्थानीय आवश्यकता राम्रोसँग बुझेका, स्वच्छ छवि भएका, ४० वर्षभन्दा मुनिका ऊर्जाशील उम्मेदवार छनोटका लागि राजनीतिक दलले प्राथमिकता दिनुपर्छ ।” उहाँले भन्नुभयो, “हरेक समस्याको समाधान खोज्न सक्ने, स्थानीय जीवन र जनजीविकासँग गहिरो सम्बन्ध राख्ने उम्मेदवार हुनुपर्छ ।” उम्मेदवारप्रति जनताको अपेक्षा सुशासन, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राजनीतिक स्थायित्व रहेको छ ।

– रमेश विश्वकर्मा