02/26/2026, 09:12:32
बिहिबार, फागुन १४, २०८२

‘मलेसियाले श्रमिक स्वस्थ भएको सुनिश्चितता खोज्छ’


काठमाडौँ, पुस ६ : नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामले रोजगारीका लागि जाने नेपाली श्रमिक स्वस्थ र कामका लागि सक्षम भए/नभएको सुनिश्चितता मलेसियाले खोज्ने गरेको बताएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालद्वारा आप्रवासन दिवसा अवसरमा आइतबार आयोजित स्वास्थ्य शिविरमा सम्बोधन गर्दै उनले भने, ‘यो केवल प्रशासनिक आवश्यकता मात्र होइन, दुवै देशको साझा नैतिक जिम्मेवारी पनि हो । स्वास्थ्यले श्रमिकको सम्मान, सुरक्षा र कल्याण हुन्छ । यसले उत्पादनशीलता र दिगोपन पनि सुनिश्चित गर्छ ।

रोजगारीका लागि मलेसिया जानुअघि सबै नेपाली कामका लागि सक्षम छन् भन्ने सुनिश्चित गर्न गुणस्तरीय स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको उनले बताए । ‘नेपाल स्वास्थ्य व्यवसायी महासंघमार्फत मलेसिया जानुअघि सबै नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण भइरहेको छ । यो उत्कृष्ट कार्यको म प्रशंसा गर्न चाहन्छु,’  उनले भने, ‘मलेसिया श्रम आप्रावसनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालासँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्ध जनाउँछु ।

मलेसिया लामो समयदेखि नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक बनिरहेको उनको भनाइ थियो । ‘नेपाली श्रमिक मलेसियामा आफ्नो अनुशासन, सहनशीलता र बलियो कार्य संस्कृतिका कारण परिचित छन्,’  उनले भने, ‘नेपालीले विशेषगरी उत्पादन, निर्माण, प्लान्टेसन तथा सेवा क्षेत्रमार्फत मलेसियाको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।