12/20/2025, 22:21:03
शनिबार, पुष ०५, २०८२

संसद् पुनस्थापना होला भनेर कसैले आँखा चम्काउन आवश्यक छैन : रवि लामिछाने

मैले के त्याग गर्नुछ, तयार छु । कसैलाई चुनाव चिह्न चाहिन्छ, लैजानुस् । पार्टी चाहिन्छ, लैजानुस् । झन्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सभापति उपसभापति लैजानुस्, व्यक्तिको कुरो ठूलो होइन


चितवन, पुस ५ — थुनामुक्त भएपछि शनिबार भरतपुर चौबिसकोठीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले सम्बोधन गरेका छन् ।

उनले चुनावमा ‘जेन-जी अभियन्तासहित सबै नयाँ साथीहरुलाई मिलाउने अभियानमा आफू लाग्ने‘ बताए । तर त्यो मिलन एउटा चुनावका लागि मात्रै नभएर सिंगो पुस्ताका लागि हुनुपर्ने उनको भनाइ थियो ।

हामी परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौं । जेन-जी अभियन्ता पनि साथमा रहनेछन्,’ उनले भने, ‘तर मिल्ने भन्ने कुरो एउटा चुनावका लागि होइन । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । एउटा पुस्ताका लागि म राजनीतिमा आएको हो । सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्ने हो भने मिलौं । सिंगो पुस्ताका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । नभए आई एम सरी ।

कारागारमा छँदा नै आफूले मिलेर जाने विषयमा सकारात्मक रहेको उनले बताए । ‘मैले के त्याग गर्नुछ, तयार छु । कसैलाई चुनाव चिह्न चाहिन्छ, लैजानुस् । पार्टी चाहिन्छ, लैजानुस् । झन्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सभापति उपसभापति लैजानुस्, व्यक्तिको कुरो ठूलो होइन,’   उनले थपे, ‘मेरो एउटा मात्रै प्रश्न छ- साथीहरु यो मिल्ने भन्ने कुरो टाउको ठोकेर मित लगाएको जस्तो होइन ।

उनले चुनावका लागि पूर्ण तयारीका साथ लाग्न सरकारसँग माग गरे । संसद् पुनस्थापना होला कि भनेर कसैले आँखा चम्काउन आवश्यक नरहेको उनले टिप्पणी पनि गरे ।

जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर धरौटी बापतको एक करोड र बिगो बापतको २ करोड ७४ लाख ८४ हजार बैंक जमानत बुझाएर उनी शुक्रबार थुनामुक्त भएका थिए ।

– रमेशकुमार पौडेल