पाँचथर, पुस ३ : जेन-जी आन्दोलनका क्रममा गोली लागेर खुट्टा काटिएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीको घोषणासभा सम्पन्न भएको छ । फिदिम–२ पल्लोटारमा आयोजित खुला सभामा अध्यक्ष पोर्तलले बुधबार दलसँगै घोषणा–पत्र पनि सार्वजनिक गरेका हुन् ।
घोषणा–पत्र सार्वजनिक गर्दै पोर्तेलले सहिदको सपना साकार पार्न परिवर्तनकारी शक्तिहरू एक हुनुको विकल्प नरहेको बताए । ‘भदौ २३–२४ गतेको आन्दोलन र प्रदर्शन २०८४ सालमा हुने चुनावलाई २ वर्षअगाडि सार्ने उद्देश्यले मात्रै भएको थिएन, देशमा व्याप्त भ्रष्टाचार, बेथिति र असमानताको अन्त्य गर्नु थियो तर आन्दोलनपश्चात् गठन भएको सरकार र जेन-जीका नाममा सरकारसँग कुम जोड्न पुग्ने नेतृत्वले सहिद र घाइतेको भावना समेट्न सकेनन्,’ पोर्तेलले भने ।
घोषणा पत्रमा आर्थिक रूपान्तरणका लागि लघुविद्युत्, पर्यटन, कृषि र खनिजलाई आधार स्तम्भका रूपमा अगाडि बढाइने उल्लेख छ । बैशाखी टेकेर पार्टी घोषणा गर्न पाँचथर आइपुगेका पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीलाई जेन-जी युनाइटेड मुभमेन्टले समर्थन गरेको छ ।

युनाइटेडका जिल्ला अध्यक्ष राजेश राईले आन्दोलनका प्रत्यक्ष घाइते पोर्तेल नेतृत्वको पार्टीले उठाएका मुद्दा जेन-जी आन्दोलनको मर्मसँग मेल खाने भएकाले निर्वाचनमा मतदान गर्ने गरी समर्थन गरेको घोषणा गरे ।
कार्यक्रममा पूर्वआईजीपी सर्वेन्द्र खनालले पुराना दलहरूबाट परिवर्तन सम्भव नभएको भन्दै पछिल्लो पटक दर्ता भएका सबै नयाँ र परिवर्तन चाहने शक्तिबीच तालमेल गरेर निर्वाचनमा जान गृहकार्य भइरहेको बताए ।
कार्यक्रममा समुन्नत पार्टी नेपालका सभापतिसमेत रहेका पूर्वआईजीपी खनाल सहित नेपाली सेनाका पूर्वमहासेनानी तथा जनादेश पार्टीका वरिष्ठ मन्त्री माधव सुन्दर खड्का लगायतले सम्बोधन गरेका थिए ।
– लक्ष्मी गौतम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












