बिहिबार, माघ ०३, २०८१

आगामी एक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहन्छ : डा. विमल शर्मा चालिसे


७ कात्तिक, काठमाडौं । दशैंपछि काठमाडौं उपत्यकामा चिसो बढे पनि डेंगु संक्रमण रोकिएको छैन । चिसो बढेपछि लामखुट्टे कम हुने भए पनि यसको टोकाइबाट हुने डेंगु संक्रमण धेरै नघटेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार दशैंपछिका केही दिनमा डेंगुका बिरामी ह्वातै बढेका थिए ।

तीन दिन अगाडिसम्म हामी कहाँ दैनिक २०–२२ जना भर्ना भएका थिए । तर आजभोलि बिस्तारै बिरामी कम हुँदै गएका छन्’, चालिसेले भने । उनका अनुसार आगामी एक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहन्छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस साता सातै प्रदेशका स्वास्थ्यमन्त्री र स्थानीय निकायका प्रतिनिधिसँग डेंगु नियन्त्रणबारे छलफल गरेका छन् । बैठकमा लामखुट्टे नियन्त्रणका लागि सम्बन्धित निकायलाई पुनः सक्रिय गराउने निर्णय भएको छ । यसवर्ष हुम्ला बाहेक ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर २२ हजार भन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार वर्षापछिको तापक्रम लामखुट्टेका लागि अनुकुल हुने र दशैंको बढ्दो आवतजावतले संक्रमण फैलिन सघाएको छ । विशेषज्ञले ७५ प्रतिशत संक्रमितमा लक्षण नदेखिन सक्ने र धेरैले घरैमा उपचार गर्ने गरेकाले वास्तविक संक्रमित संख्या अझै बढी हुनसक्ने चेतावनी दिएका छन् ।

गम्भीर लक्षण देखिएका बिरामी मात्र अस्पताल आउने गरेका छन् । नाक वा गिजाबाट रगत आउने जस्तो परिस्थिति बने मात्र मानिसहरू अस्पताल आएको देखिन्छ ।’ डा. पुनले भन्छन् । उनका अनुसार सहन गर्न सक्ने पीडा हुँदासम्म पनि मानिसहरू घरमै बस्ने गर्छन् ।

इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार केही साता जोखिमयुक्त नै हुन्छ । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल हुन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहि रहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजारसम्म फुल पार्नसक्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् ।

पानी पर्न रोकिँदा अबको केही साता जोखिम नै रहन्छ । विगतका वर्षमा कात्तिकसम्म नै जोखिम कायम नै थियो । अहिलेको अवस्था हेर्दा कात्तिक महिना पूरै जोखिमयुक्त हुने ठानेका छौं ।’ दाहालले भने । उनका अनुसार अघिल्लो वर्षको भन्दा कम संक्रमित हुने आंकलन गरिएको छ ।

चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित बेहोस पनि हुने सम्भावना हुने भएकाले यो समयमा बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

डेंगुसँग मिल्दोजुल्दो लक्षणहरू देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने नहुने डा. पुन बताउँछन् । उनका अनुसार चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको खोज तथा नष्ट अभियान नै हो । तर, त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।

यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन सरकार चुकेको जन-स्वास्थ्यविद्को बुझाइ छ । अहिले संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै भएकाले त्यसले आगामी दिनमा डेंगु फैलाउन सहज वातावरण बनाउने हुन्छ । त्यसले अण्डाबाट लाभर्न प्यूपा हुँदै लामखुट्टे भएर भएर सीधै डेंगु भाइरस सार्न सक्छ । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ लामखुट्टेको संख्या बढ्छ ।

काठमाडौं लगायत ठूला शहरमा पानी थापेर राख्नुपर्ने बाध्यताको कारण पनि लामखुट्टेलाई हुर्कन सहज भइरहेको छ । यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, कौसी, गमलामा पानी जम्मा हुँदा अव्यवस्थित तथा टायरका कारण पनि काठमाडौंमा डेंगु फैलिरहेको छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई ध्यान दिनुपर्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading