10/30/2025, 20:30:38
बिहिबार, कार्तिक १४, २०८२

जङ्गलभित्र लगेर कारमा आगजनी


झापा, कात्तिक १३ गते । मेचीनगर नगरपालिका-१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । मेची राजमार्ग अन्तर्गतको चारआली-चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

कार आगजनीबारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । उहाँले भन्नुभयो, “जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”

आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुन सक्ने स्थानीयले आशङ्का गरेका छन् । आगजनीपछि कार चालक फरार भएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..