12/12/2025, 18:52:08
शुक्रबार, मङि्सर २६, २०८२

अमेरिकाबाट धुर्मुस-सुन्तलीले भने : हामी छोरीको उपचारका लागि आएका हौं


काठमाडौँ, मङ्सिर २६ : कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’  र  कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका प्रचारबारे सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका छन् । छोरीको उपचारका लागि आफूहरू अमेरिका पुगेको भन्दै उनीहरूले भ्रामक प्रचार नगर्न र नपत्याउन आग्रह गरेका हुन् ।

कट्टेलले फेसबुकमार्फत जारी गरेको बकपत्रमा आफूहरूले नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि आवेदन गरेको बताए ‌। यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरूका लागि दिइने स्थायी बसोबास अनुमतिपत्र हो ।

यो कार्डमा आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि नि:शुल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स/ मेडिकेडमार्फत् । यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाई गर्ने निर्णय लिएका थियौं,’ उनले उल्लेख गरेका छन् । आवेदन गरेको दुई वर्षपछि पोहोर साल उनीहरूले भिसा पाएका थिए ।

रंगशालाको दलदलबाट बाहिर निस्किएर आफूहरू छोरीका उपचारका लागि अमेरिका जान चाहेको बताउँदै उनले थपे, ‘भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारको लागि बाहिर जानुपर्ने भएकाले हामीलाई छिटो यो भारीबाट मुक्ति दिलाइदिनुस् भनेर पटक-पटक अनुरोध गरेका थियौं तर सबै प्रयास लगाउँदा पनि कुनै उपाय लागेन । निराशा मात्र हात पर्‍यो । त्यसैले हामी छोरीको ज्यान जोखिममा नपरोस् भनेर समस्यालाई थाँती राखी अहीले अमेरिका आउन बाध्य बन्यौं । यो बाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु ।

छोरीको उपचारपछि पुनः नेपाल फर्किएर कलाकारितामा रमाउने उनले उल्लेख गरे । कट्टेललाई चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदाको ऋण छ । भरतपुर महानगरपालिकाले मन्त्रिपरिषद्‍बाट निर्णय भइसकेको रकम भुक्तानी नगर्दा आफूहरू मारमा परेको बताउँदै आएका थिए ‌।