12/10/2025, 05:14:20
मङ्गलबार, मङि्सर २३, २०८२

विद्युत प्राधिकरणद्वारा एकैदिन २५ लाख बक्यौता असुल


नेपालगन्ज, मङ्सिर २३ : नेपाल विद्युत प्राधिकरण  नेपालगन्ज वितरण केन्द्रले बाँकेमा सञ्चालन गरेको ‘बक्यौता असुली अभियान’ अन्तर्गत एकै दिन २५ लाख रुपियाँ भन्दा बढी बक्यौता असुली गरिएको छ ।

नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार मङ्सिर १४ गतेबाट सञ्चालन गरिएको ‘बक्यौता असुली अभियान’ अन्तर्गत सोमबार एकै दिन नेपालगन्ज र खजुराका ८२ जना ग्राहकबाट २५ लाख १८ हजार रुपियाँ भन्दा बढी असुल गरिएको हो ।

लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटिएकोले ती मध्ये नेपालगन्जका ५५ जना ग्राहकले सोमबार विद्युत वितरण केन्द्र नेपालगन्जमा पुगेर २० लाख १० हजार भन्दा बढी रकम तिरेर लाइन पुनः सुचारु गराएको तथा २७ जना खजुराका ग्राहकले पाँच लाख आठ हजार रुपियाँ तिरेर लाइन सुचारु गराएको वितरण केन्द्रका प्रमुख मिश्राले बताउनुभयो ।

उहाँले लामो समयदेखि महसुल नतिरेर सात लाख ६३ हजार ८८९ रुपियाँ बक्यौता रहेका ६५ जना ग्राहकको लाइन पनि सोमबार काटिएको जनाउँदै बक्यौता पूर्ण रुपमा असुल नभएसम्म यो अभियान जारी रहने बताउनुभयो । यसअघि आइतबारसम्म तीन दिनमा १३३ जना ग्राहकबाट २१ लाख ७६ हजार ५१७ रुपियाँ बक्यौता असुल गरिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका अनुसार ‘बक्यौता असुली अभियान’ सञ्चालन गरिएको चार दिनमा बाँकेका १८८ जना ग्राहकबाट ४६ लाख रुपियाँ भन्दा बढी रकम असुल गरिएको छ । बक्यौता असुली अभियान सञ्चालन गरिएयता बाँके जिल्लामा लामो समयदेखि महसुल नबुझाउने करिब ४०० जना ग्राहकको लाइन काटिएको जनाइएको छ ।

– सिराज खान