ताप्लेजुङ, १७ मङ्सिर : नेकपा एमाले कोसी प्रदेश कमिटीले केन्द्रीय सचिव योगेश भट्टराई पक्षधर दुई नेतालाई निलम्बन गरी स्पष्टीकरण मागेको छ। निवर्तमान अध्यक्ष एवं कोसी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ र गत जिल्ला अधिवेशनमा सचिवका उम्मेदवार मणि शंकर पोमुलाई निलम्बन गरेको हो ।
कोसी प्रदेशका सल्लाहकार परिषद् सदस्य साम्सोहाङ र कोसी प्रदेश कमिटीका पर्यटन विभाग सचिव पोमु पटके कारबाहीमा परेका हुन् । प्रदेश कमिटीले यसअघि यही पदमा गरेको निलम्बन फुकुवा भएको छैन । कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पुन यही पद उल्लेख गर्दै पार्टी जिम्मेवारीबाट निलम्बन गरी स्पष्टीकरण सोधेका छन् ।
स्पष्टीकरणमा एघारौँ महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचन प्रक्रियाको क्रममा कोसी प्रदेश कमिटी सदय तथा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला गरेको र निर्वाचन प्रक्रियामा अवरोध पुर्याएको भनी सम्बन्धित जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेकाले १५ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ । त्यस अवधिका लागि सदस्यता समेत निलम्बन गरिएको उल्लेख छ ।
यसअघि गत वर्षको वैशाख महिनामा भएको एमाले भातृ संगठन युवा संघको जिल्ला अधिवेशनको क्रममा तोडफोड तथा हुल हुज्जत गरेको भन्दै निलम्बन गरिएको थियो । छानबिन समितिको सिफारिसमा साम्सोहाङलाई कमजोरी स्विकारी आत्मालोचना गरे तत्कालैदेखि निलम्बन फुकुवा गर्ने र पोमुलाई भने आठ महिना निलम्बन गरी कमजोरी स्वीकार गरी आत्मालोचना गर्नुपर्ने निर्णय प्रदेश कमिटीले गरेको थियो ।
साम्सोहाङले आफूले कुनै कमजोरी नगरेको भन्दै आत्मालोचना गर्न अस्वीकार गरेका थिए भने पोमुको आठ महिनाको अवधि पुगेको थिएन । आत्मालोचना नगर्दा पनि साम्सोहाङलाई गत भाद्र २० गतेदेखि भएको विधान महाधिवेशनमा भने सहभागी गराइएको थियो । महाधिवेशन प्रतिनिधि छनौटको क्रममा साम्सोहाङ र पोमुले पनि उम्मेदवारी दिएका थिए ।
उनीहरुका विरुद्ध घनेन्द्र मादेन, मंगलसिं केदेम, आशिष केदेम र सन्तोष चाम्लिङले उजुरी दिएका थिए । आफूहरूका विरुद्ध परेको उजुरीको ब्यहोरा हेर्न खोज्दा निर्वाचन कमिटीले नदिएपछि सामान्य विवाद भएको साम्सोहाङ बताउँछन् । ‘सांघातिक आक्रमण भनिएको छ कसको कहाँ कति चोट लागेर अस्पताल बसेका छन् ?’ साम्सोहाङले प्रश्न गर्दै भने- ‘हामीलाई फरक समुहको भनेर ओलि पक्षधरले तलै रोक्न खोजेका हुन् ।‘
उक्त घटना छ गते भएको तर जिल्लामा सहमति गरिसकेपछि ११ गते प्रदेश कमिटीले पठाएको पत्र आफूले सामाजिक सञ्जालमा देखेको उनले बताए । उनले महाधिवेशन प्रतिनिधिको मनोनयनपछि दाबी विरोधको क्रममा निर्वाचन कमिटीसँग केही विवाद भने भएको स्वीकार गरे ।
साम्सोहाङ र जिल्ला इन्चार्ज तिलकुमार मेन्याङवोको सक्रियतामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ । केपी ओलि पक्षका आठ र ईश्वर पोख्रेल पक्षधर चार गरी १२ जना चयन गरिएको हो । निर्वाचन कमिटीसँगको विवादपछि पटक/पटक बसेर सहमतिमा प्रतिनिधि चयन भएको एमाले नेता बताउँछन् ।
सहमति कालागि प्रदेश कमिटीका सदस्य, जिल्ला नेतृत्व कारबाही परेका व्यक्तिहरू र स्वयं निर्वाचन कमिटी संयोजक समेत छलफलमा रहेका थिए । छलफलमा कारबाहीको कुनै गुन्जायस नभएको तर सहमति भएर निर्वाचनको मिति सकिएपछि कारबाहीका पत्र एकाएक सार्वजनिक भएको साम्सोहाङको गुनासो छ । कारबाही हुन्थ्यो सहमति गर्नेमा आफू नलाग्ने उनले प्रस्ट्याए । स्पष्टीकरण दिने नदिने भन्ने विषयमा परामर्श भइरहेको उनले सुनाए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















