५ कात्तिक, पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दलका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । पोखरामा सोमबारबाट सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष भट्टराईले शक्तिशाली लोकपाल बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
कुनै व्यक्तिको पहलले भ्रष्टचार नियन्त्रण नहुने भन्दै डा.भट्टराईले यसका लागि संस्थाहरू बलियो बनाउनुपर्ने तर्क गरे । ‘आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएजस्तो गरेको छ । देशको संस्थाहरू कमजोर राखेर कुनै पनि महान कोही व्यक्ति आएर भ्रष्टाचार रोक्न सक्दैन ।’ अध्यक्ष भट्टराईले भने ।
अध्यक्ष भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाए । ‘विधिको शासन र अर्थतन्त्र कमजोर राख्दा ठूला कमिसनखोरसँग नमिली पार्टीहरूको ढुकुटी चल्दैन, चुनाव जितिंदैन, सत्ता चल्दैन ।जबसम्म शक्ति केन्द्रहरूले यहाँ घुसपेठ गरिरहन्छन्, तिनको चंगुलबाट बाहिर नआएसम्म सुशासन हुनैसक्दैन ।’ अध्यक्ष भट्टराईले भने ।