३० असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो। सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ। ‘भोलि सुर्खेतमा जिल्ला भेला हुँदैछ । त्यसपछि कहाँ कहिले गर्ने तालिका बनाउँदै छौं’ सह-प्रवक्ता प्रतिभा रावलले भनिन्।
सचिवालयको बैठकमा मेची महाकाली यात्राका बारेमा पनि छलफल भएको प्रतिभा रावलले जानकारी गराइन् । १ र २ असोजमा भएको राष्ट्रिय भेलाले पार्टी सभापति रवि लामिछानेले देशव्यापी यात्राको लागि राखेको प्रस्तावलाई पारित गरेको थियो । यात्राका लागि मिति भने तय भइसकेको छैन ।
‘जतिसक्दो छिटो यात्रा गर्ने तयारी गरेका छौं । मिति भने तय भइसकेको छैन’ प्रतिभा रावलले भनिन् । जिल्ला भेलाले असोजभित्र तदर्थ समिति बनाउने निर्णय राष्ट्रिय भेलाले निर्णय लिएको थियो । तर, जिल्ला भेला सुरु हुन असोजमा सकेन।
एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ । रास्वपाले २०८२ को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यस अनुसारको कार्यतालिका कार्यवाहक महामन्त्री बुर्लाकोटीले राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए । बुर्लाकोटीको प्रस्तावलाई राष्ट्रिय भेलाले पारित गरेको थियो। वडा तदर्थ समिति गठन यही वर्षको माघभित्र सक्ने रास्वपाको लक्ष्य छ । वडा अधिवेशन फागुनसम्म सक्ने रास्वपाको तयारी छ।
पालिका अधिवेशन कात्तिकबाट सुरु गरेर पाँच महिनाभित्र (फागुनसम्म) सक्ने , जिल्ला अधिवेशन चैतभित्र गर्ने, प्रदेश र केन्द्रको महाधिवेशन २०८२ बैशाखमा गर्ने गरी रास्वपाले निर्णय लिएको छ ।