11/10/2025, 16:48:15
सोमबार, कार्तिक २४, २०८२

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी


काठमाडौँ, कात्तिक २४ गते । उपचारका लागि काठमाडौँ जाँदैछु भन्दै बिदा लिएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बाटैमा नेकपा (एमाले) का नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशको राजनीतिक वृत्त तरङ्गित बनेको छ ।

सोमबार बिहान करिब ४ बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलबाट बिदा भएकी भण्डारीले करिब एक घण्टापछि सिन्धुली र महोत्तरीको सीमामा रहेको ‘पानस कटेज’मा यादवलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

यसअघि उनले संविधानको धारा १६८(२) अन्तर्गतको सरकार असफल भएको भन्दै १६८(३) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने संकेत दिएकी थिइन् । तर दलहरूले १६८(२) कै सरकार गठन प्रक्रिया अपूर्ण रहेको भन्दै पुनः आह्वान गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका थिए ।

कांग्रेस, जनमत, लोसपा, माओवादीसहित सात दलीय गठबन्धनले प्रदेश प्रमुखको उक्त कदमलाई असंवैधानिक भन्दै तीव्र विरोध जनाएको छ । उनीहरूले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।

साथै, सोमबार बिहान बसेको सात दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री नियुक्ति भएको विरोधमा बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय भएको कांग्रेसका मधेश सभापति एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए। उनका अनुसार सात दलका बहुमत ७४ जना सांसदको हस्ताक्षरसहित अदालत जाने तयारी भएको हो।

यसअघि भण्डारीले स्वास्थ्य समस्या रहेको भन्दै बिदा लिँदा सोनलले पुष्पगुच्छा अर्पण गर्दै शुभकामना दिएका थिए। तर केही घण्टामै नयाँ मुख्यमन्त्रीको नियुक्ति भएको खबर आएपछि गठबन्धन दलहरू आक्रोशित भएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..