काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो फर्सी, काँक्रो र घिरौँलामा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएका यी तरकारी उपभोग अयोग्य रहेको समितिले जनाएको छ ।