10/08/2025, 18:57:19
बुधबार, असोज २२, २०८२

सक्नेले तर्छन्, नसक्ने घर फर्किन्छन्


तनहुँ, असोज २२ : बुद्ध सिंहमार्गमा पर्ने घुमाउने पुल लगायत पाँच वटा पुलको निर्माण नहुँदा यात्रु कठिनाइमा परेका छन् । गाउँघर र सहरलाई जोड्ने यो मार्ग सधैँ जनजीवनका लागि महत्वपूर्ण मानिन्छ । ११ वर्षअघिदेखि निर्माणाधीन रहेका घुमाउने, सुँढेखोला, ढाँडखोला, खानीखोला, बगरखोला र भूतखोलाका पुल अझै अधुरा छन् । यी ठाउँमा पुल बन्न नसक्दा सक्नेले खोला तर्छन् भने नसक्नेले वारिपारि हेरेर घर फर्किनुपर्ने अवस्था छ । घरबाहिर हिँड्नैपर्ने जरुरी काम पर्दा ज्यान जोखिममा पारेर स्थानीय बासिन्दा नदी वारपार गर्न बाध्य छन् ।

बुद्ध सिंहमार्ग सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जामगरले राज्यको उदासीनता र ठेकेदारको लापर्बाहीले निर्माण ढिलाइ भएको आरोप लगाउँदै भन्नुभयो, “घुमाउने पुल अधुरो भएकाले यात्रुको जीवन पहिरो र जोखिममा परेको छ ।” आँबुखैरेनी–भरतपुर जोड्ने ११ वर्षअघि सुरु गरिएको घुमाउने पुलको निर्माण अहिलेसम्म करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । यस कारण दसैँमा यात्रा गर्नेले सवारीसाधन भएर पनि कष्ट भोग्न बाध्य भएका छन् । व्यास नगरपालिका–१४ निवासी हर्कबहादुर थापाले भन्नुभयो, “साना बालबालिका र बिरामीसमेत घन्टौँ बाटोमै रोकिनुपरेको छ । यो पुल समयमै बनेको भए यस्तो पीडा देख्नुपर्ने थिएन ।

सडक विभाग र सुरक्षाकर्मीले पहिरो पन्छाउने प्रयास गरिरहे पनि लगातार खसिरहेकाले सडक भासिने जोखिम बढेको छ । पुल निर्माण सम्पन्न भएमा नारायणगढ, पोखरा र दमौलीतर्फको यात्रा २३ किलोमिटर छोटिने प्राविधिकले बताएका छन् । सङ्घर्ष समितिले अब पनि पुल पूरा भएन भने खबरदारी गर्ने अवस्था आउने बताएको छ । समितिले स्थानीयवासी र यात्रु पुललाई प्राथमिकतामा राखी तत्काल निर्माण पूरा गर्न माग गर्दै आएको छ ।

स्थानीयका अनुसार घुमाउने र अन्य अधुरा पुलका कारण यात्रुले ठाउँ ठाउँमा रोकी मोटरसाइकलमा दुई÷तीन जना मिलेर यात्रा गर्न बाध्य छन् । घुमाउनेलगायतका पुलको निर्माणको काम समयमै पूरा भइदिएको भए यात्रुले यस्तो कठिनाइ भोग्नुपर्दैनथ्यो ।