२२ असोज, काठमाडौं । जम्मु-कस्मिरमा भएको विधानसभा चुनावको नतिजा आएको छ। यहाँ जम्मु-कस्मिर नेसनल कन्फ्रेन्स र कंग्रेसको गठबन्धनले बहुमत प्राप्त गरेको छ। नेसनल कन्फ्रेन्सले ४२ सिट जितेको छ भने कंग्रेस ६ सिटमा विजयी भएको छ। यस्तै भाजपाले २९ सिट पाएको छ भने पीडीपी ३ सिटमा सीमित भएको छ। यसबाहेक मार्क्सवादी कम्युनिस्ट पार्टी (सीपीएम), जम्मु तथा कस्मिर पिपुल्स कन्फरेन्स (जेपीसी) र आम आदमी पार्टीले एक/एक सिट जितेका छन् भने सात सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
जम्मु-कस्मिरमा कूल ९० सिट छन् र बहुमतका लागि ४६ सिट आवश्यक हुन्छ। नेसनल कन्फ्रेन्स-कांग्रेस गठबन्धनले ४८ सिट जितेको छ। जम्मु-कस्मिरमा १० वर्षपछि विधानसभाको चुनाव भएको हो। पछिल्लोपटक भाजपा र पीडीपीले मिलेर सरकार बनाएका थिए। जुन सरकारमा महबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन्। भाजपा-पीडीपी गठबन्धन सरकारले पाँच वर्ष पूरा गर्न सकेन। यसपछि ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मु-कस्मिरको विशेष दर्जा हटाएर दुई केन्द्र शासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू गरियो।