काठमाडौँ, असोज २० : गत भदौ २३ र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७३.९२ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । दसैंअघिसम्म बिमा कम्पनीहरूमा कुल २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ८८ वटा दाबी परेको छ । त्यसमध्ये २ हजार २ सय ९ वटा दाबीमा ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको माग गरिएको छ ।
दाबीको आकलन गर्दा प्रदर्शनका क्रममा धेरै सवारीसाधनमा क्षति पुगेको देखिन्छ । सरोकारवाला भने परेको बिमा दाबीभन्दा धेरै संख्यामा सवारीसाधनमा क्षति भएको बताउँछन् । अर्थ मन्त्रालय स्रोतका अनुसार १ हजार २ सयभन्दा बढी सरकारी सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये धेरैको बिमा भएको छैन । बिमा भएका सवारीसाधनमा पनि तेस्रो पक्षकै मात्र रहेको जनाइएको छ । धेरै निजी सवारीसाधनमा पनि क्षति पुगेको छ । तर, तीमध्ये धेरैको बिमा गरिएको छैन । बिमा भएको पनि तेस्रो पक्षको मात्र भएकाले क्षति भएका सबै सवारीसाधनको बिमा दाबी नपरेको हो ।
रकमका आधारमा हेर्दा भने सबैभन्दा धेरै दाबी सम्पत्ति बिमामा परेको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्ट लगायत स्थिर सम्पत्ति पर्छन् । यस बिमा अन्तर्गत ५ सय ९४ वटा बिमा दाबी परेका छन् । यसमा १९ अर्ब ३ करोड २८ लाख रुपैयाँ माग गरिएको छ । यो परेको कुल दाबीको ८१ प्रतिशतभन्दा केही बढी हो । दसैंअघिसम्म कुल २ हजार ९ सय ८८ दाबीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ माग गरिएको छ ।
कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये (संख्या) सवारीसाधन र सम्पत्ति बिमा जोड्दा करिब ९४ प्रतिशत हुन आउँछ । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै बागमतीमा रहेको देखिएको छ । सम्पत्ति धनीले क्षतिबापत गरेको बिमा दाबीको तथ्यांकले यस्तो देखाएको हो । यसअनुसार बागमतीमा मात्र ५४ प्रतिशत अथवा १ हजार ६ सय ८ वटा दाबी परेका छन् ।
दोस्रोमा, ३ सय ७७ वटा दाबी कोशीमा परेका छन् । तेस्रोमा, मधेशमा ३ सय २३ वटा दाबी परेका छन् । लुम्बिनीमा २ सय ५४, गण्डकीमा २ सय १९, सुदूरपश्चिममा १ सय ८२ र कर्णालीमा २५ वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।
रकमका आधारमा पनि करिब ७७ प्रतिशत दाबी बागमतीमा परेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो तथ्यांकअनुसार परेको साढे २३ अर्ब रुपैयाँ दाबीमध्ये सबैभन्दा धेरै १८ अर्ब ४ करोड ३ लाख रुपैयाँ बागमतीकै छ । यो कुल दाबी रकमको ७७.१२ प्रतिशत हो । यसरी बिमा दाबीका लागि परेका उल्लिखित तथ्यांकका आधारमा संख्याका हिसाब आधाभन्दा बढी र रकमका हिसाबले करिब ८० प्रतिशत क्षति बागमतीमा परेको विश्लेषण गर्न सकिन्छ ।
यद्यपि क्षति भएका सबै संरचनाको बिमा गरिएको हुँदैन, केही अवस्थामा थोरै रकमको बिमा भएकामा क्षति धेरै भएको हुन सक्छ । नेपालमा अपवादबाहेक सरकारी संरचनाको बिमा गरिएको छैन । यसको अर्थ परेको बिमा दाबीमा सरकारी संरचनाको क्षति पनि समावेश छैन । यसकारण बिमा दाबीकै आधारमा क्षतिको यकिन विवरण निकाल्न गाह्रो छ ।
हालसम्म इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १ सय ४, पारवहन बिमामा ११ र अन्यमा ३० वटा दाबी परेका छन् । यद्यपि यो सुरुवाती दाबी भएकाले धेरै रकम आउने र परेकामध्ये सबै नै वास्तविक भुक्तानी नहुने बिमा कम्पनीहरूले जनाएका छन् । प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी आउने क्रम जारी नै रहेकाले अझै बढ्ने अनुमान छ । करिब २५ अर्ब रुपैयाँ बराबरको दाबी पर्ने बिमा कम्पनीहरूको अनुमान छ ।
परेकामध्ये हालसम्म कम्पनीहरूले निकै कम रकम मात्र भुक्तानी गरेका छन् । मूल्यांकनको काम नसकिएकाले ठूलो रकम भुक्तानी गर्न नसकिएको कम्पनीहरूको भनाइ छ । थोरै नै भए पनि हालसम्म कति रकम भुक्तानी भयो भन्ने तथ्यांक प्राधिकरण र बिमा कम्पनी कसैले सार्वजनिक गरेका छैनन् । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले आन्दोलनमा मुलुकभर निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक यसअघि नै सार्वजनिक गरेको छ ।