09/27/2025, 13:08:55
शनिबार, असोज ११, २०८२

चाडपर्वमा चलचित्रको जुधाइ


काठमाडौं, असोज ११ : नेपाली चलचित्र निर्माताहरू प्रदर्शनको उपयुक्त मौकाको पर्खाइमा हुन्छन् । उनीहरूको प्रतीक्षाको समय हुन्छ– दसैँ । दसैँ–तिहार–छठको रौनकले मुलुक नै उल्लासमय बनेको क्षणमा चलचित्र प्रदर्शन गर्न होडबाजी नै चल्छ । कतिपय चलचित्र निर्माता केही समय पर्खेरै भए पनि प्रदर्शनका लागि दसैँ कुर्छन् ।

दसैँतिहारमा सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालयलगायत उद्योगधन्दामा पर्व बिदा हुन्छ । साथीभाइ, परिवारसाथ घुमघाम र मनोरञ्जनको मानसिकता हुन्छ । त्यसैले यो समयमा चलचित्रघरतर्फ दर्शक ओइरिन्छन भन्ने मानसिकता निर्माता–निर्देशकको हुन्छ । यो समयको महìव यति धेरै छ कि हरेक वर्ष निर्देशक र निर्माताबिच आफ्ना चलचित्र चलाउने अघोषित होडबाजी नै चल्छ । यो प्रतिस्पर्धा कुनै खेलभन्दा कम हुँदैन, जहाँ सबैले आफ्नो चलचित्रलाई विजयी बनाउन चाहन्छन् । कसले बढी दर्शक तान्छ, कसको चलचित्रले बढी व्यापार गर्छ र कसको चर्चा बढी हुन्छ भन्ने होडमा सबै जना आआफ्नो चलचित्रको प्रचारप्रसारमा लाग्छन् ।

यसले गर्दा दर्शकले विभिन्न विधाका चलचित्र हेर्ने अवसर पाउँछन् तर यसको नकारात्मक पक्ष पनि छ । एकै पटक धेरै चलचित्र प्रदर्शन हुँदा दर्शक बाँडिने र कुनै पनि चलचित्रले सोचे जस्तो व्यापार गर्न नसक्ने जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले चाडपर्वको यो माहोलले नेपाली चलचित्र उद्योगलाई एकसाथ अवसर र चुनौती दुवै प्रदान गर्दछ ।

नेपाली चलचित्र उद्योगमा दसैँतिहारको समयको महìव र यसले सिर्जना गरेको प्रतिस्पर्धाको इतिहास रोचक छ । एक समय थियो जब चाडपर्वको माहोलमा नायिका रेखा थापाको नामले मात्रै पनि दर्शकमा छुट्टै उत्साह थपिन्थ्यो । उहाँ दसैँलाई लक्षित गरेर चलचित्र प्रदर्शन गर्ने निर्मातामध्येकी एक हुन् । उहाँका चलचित्रले चाडपर्वमा एकछत्र राज गर्थे । २०७१ सालको दसैँको फूलपातीको दिन प्रदर्शनमा आएको उहाँको चलचित्र ‘हिम्मतवाली’ यसको एक ज्वलन्त उदाहरण हो । यो चलचित्रले पाएको सफलताले रेखा थापालाई चाडपर्वमा चलचित्र रिलिज गर्ने ‘क्विन’ को रूपमा स्थापित ग¥यो । त्यसपछि उहाँका प्रायः चलचित्र दसैँको अवसर पारेर नै प्रदर्शन हुन थाले ।

रेखा थापाको यो सफलताले निर्माता छविराज ओझा, निर्देशक अशोक शर्मा, र ज्ञानेन्द्र देउजा जस्ता पुराना हस्तीलाई पनि दसैँलाई आफ्नो चलचित्र प्रदर्शन गर्ने मुख्य समयको रूपमा रोज्न प्रेरित ग¥यो । यसले हलमा यी निर्माता र कलाकारको दबदबा बढ्न थाल्यो र अन्य चलचित्रले दसैँको समयमा प्रदर्शनको मौका पाउन पनि गाह्रो हुन थाल्यो । यसरी चाडपर्व नेपाली चलचित्रका लागि अवसरको खानी बन्यो, जहाँ केही सीमित चलचित्रले मात्रै सफलताको स्वाद चाख्न पाउँथे र बाँकीले पछाडि हट्नु पथ्र्यो ।

रेखा थापाका अनुसार पहिले दसैँतिहारको समयमा चलचित्र प्रदर्शन गर्नु जोखिमपूर्ण कदम मानिन्थ्यो । त्यो समयमा हल मालिक र वितरकको मनमा एउटा गहिरो मनोवैज्ञानिक धारणा थियो कि चाडपर्वमा मानिस आफ्नै संसारमा व्यस्त हुन्छन् । उनीहरूको अनुमान थियो कि काठमाडौँ उपत्यका र बाहिरका सहरमा पनि दर्शकको उपस्थिति कम हुने छ, किनकि अधिकांश मानिस चाडपर्व मनाउन गाउँ फर्कन्छन् वा पारिवारिक जमघटमा व्यस्त हुन्छन् । यसैले दसैँमा चलचित्र चलाउने प्रचलन नै थिएन, यो एक प्रकारको अन्जान क्षेत्र थियो, जहाँ कोही पनि लगानी गर्न चाहँदैनथे ।

यो पुरानो मान्यतालाई तोड्दै रेखा थापाले जोखिम मोल्ने आँट गर्नुभएको थियो । उहाँले जोखिम उठाएरै भए पनि आफ्नो चलचित्र चाडपर्वको अवसरमा प्रदर्शन गर्नुभयो र प्रयास सफल पनि भयो । उहाँले प्रमाणित गरिदिनुभयो कि चलचित्र वास्तवमै राम्रो बनेमा र दर्शकको मन जित्ने खालको भएमा त्यसलाई चलाउन चाडपर्व नै चाहिन्छ भन्ने छैन, तर यो समयले सफलताको बाटो चाहिँ  देखाउन सक्छ ।

रेखा थापाले चाडपर्वको समयमा पाएको सफलताले नेपाली चलचित्र उद्योगमै एकछत्र राज स्थापित ग¥यो । एक समय यस्तो आयो दसैँ मात्र होइन, अन्य चाडपर्व पनि रेखा थापाको चलचित्रका लागि आरक्षित जस्तो लाग्न थाल्यो । उहाँ भन्नुहुन्छ, “त्यो समयमा हामीले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो, किनकि नेपाली चलचित्र त्यति धेरै बन्दैनथे ।

अहिले परिस्थिति बदलिएको छ । अहिले नेपाली चलचित्र आफैँमा भिडन्त गर्छन् । उहाँ यो प्रतिस्पर्धालाई स्वस्थ प्रतिस्पर्धाभन्दा पनि प्रतिशोध र आफ्नो प्रतिष्ठा जोगाउनका लागि गरिएको प्रयासका रूपमा लिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेको भिडन्त हेर्दा लाग्छ, यो प्रतिशोध साँध्न र आफ्नो प्रतिष्ठा जोगाउन मात्रै गरिएको हो ।” यसरी चाडपर्वको समयमा चलचित्र प्रदर्शनको इतिहास र वर्तमानबिच ठुलो फरक देखिएको छ, जहाँ विदेशी चलचित्रसँगको प्रतिस्पर्धा आन्तरिक द्वन्द्वमा परिणत भएको छ ।

यस वर्षको दसैँमा चलचित्र प्रदर्शनको होडबाजीले ‘अभिमन्युः च्याप्टर १’ लाई आफ्नो प्रदर्शन मिति सार्न बाध्य पारेको छ । सुरुमा असोज १३ गते, अर्थात् दसैँको फूलपातीको दिन प्रदर्शन हुने घोषणा गरिएको यो चलचित्र अब असोज २४ गतेदेखि मात्रै हलमा आउने भएको छ । निर्माता विनोद पौडेलका अनुसार एकै दिनमा चार वटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएपछि पर्याप्त सो पाउन नसकिने चिन्ता बढेको थियो । कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न एउटै हलमा धेरै सो पाउनु आवश्यक हुन्छ । चार वटा चलचित्र एकैसाथ आउँदा हलहरूले सबैलाई उचित सो दिन सक्दैनन्, जसले गर्दा सबैको व्यापारमा नकारात्मक असर पर्ने निश्चित थियो । यसै चिन्तालाई ध्यानमा राख्दै चलचित्रको टोलीले प्रदर्शन मिति पछि सारेको हो ।

यो चलचित्रको यात्रा सुरुदेखि नै चुनौतीले भरिएको थियो । सुरुमा भदौ २७ गते नै प्रदर्शन गर्ने तयारी थियो, तर देशमा चलेको जेनजी आन्दोलनका कारण स्थगन गर्नु प¥यो । अहिले निर्माताको आशा छ कि एकल प्रदर्शन (सोलो रिलिज) को मौका पाएर दर्शकको पूर्ण ध्यान र पर्याप्त हल पाउने छ । यो दसैँको मैदानमा अब ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ गरी तीन विधाका चलचित्र आमनेसामने हुने छन् । यी तीन चलचित्रको महासङ्ग्राम हेर्न अब दर्शक उत्सुकताका साथ पर्खिरहेका छन् ।

निर्माता छविराज ओझाले दसैँको समयमा चलचित्रको प्रतिस्पर्धालाई एउटा ‘चलचित्रको मेला’ को संज्ञा दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “जति धेरै चलचित्र प्रदर्शन भए त्यति नै दर्शकले छानी छानी आफ्नो मनपर्ने चलचित्र हेर्न पाउँछन् ।” उहाँ यो प्रतिस्पर्धालाई पूर्ण रूपमा स्वाभाविक मान्नुहुन्छ, जसले दर्शक र निर्माता दुवैलाई फाइदा पु¥याउँछ । उहाँ दसैँको समयलाई दर्शकका लागि मनोरञ्जनको महोत्सवका रूपमा व्याख्या गर्नुहुन्छ ।

यता निर्देशक दीपकराज गिरी पनि चलचित्र जुधाउने विषयमा परिपक्व धारणा राख्नुहुन्छ । गत वर्ष ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को भिडन्तमा देखिएको तनावलाई सम्झँदै उहाँ भन्नुहुन्छ, “यो कुनै निर्वाचन होइन, एउटाले जित्ने र अर्कोले हार्ने ।” उहाँको भनाइमा दर्शकले पैसा र फुर्सद भएमा सबै चलचित्र हेर्न सक्छन् । उहाँ चलचित्र जुध्नु स्वाभाविक भए पनि एकअर्कासँग भिड्नुभन्दा आफ्नो चलचित्रको व्यापार कसरी बढाउने भन्नेमा ध्यान दिनु जरुरी रहेको बताउनुहुन्छ ।

निर्देशक दीपेन्द्र के खनालको विचार केही यथार्थवादी छ । उहाँ भन्नुहुन्छ, “हामीले दसैँमा मात्रै सोलो रिलिज गर्छु भनेर अब कुनै पनि राम्रो मिति पाउन सकिँदैन ।” उहाँ चाडपर्वको समयमा धेरै चलचित्र एकसाथ प्रदर्शन हुनुलाई नौलो कुरा मान्नुहुन्न । उहाँ भन्नुहुन्छ, “यो व्रmम अब नरोकिने देखिन्छ । दसैँमा मात्रै होइन, तिहार र त्यसपछिका महिनामा पनि धेरै चलचित्र एकअर्कासँग प्रतिस्पर्धामा उत्रिने निश्चित छ ।” उहाँ दर्शकलाई फाइदा हुने र चलचित्रको सफलता दर्शकको हातमा नै निर्भर हुने भएकाले यो प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुहुन्छ ।

नेपाली चलचित्र उद्योगमा दसैँको समय एउटा सुनौलो व्यावसायिक अवसर हो । यस समयमा मानिसले लामो बिदा पाउने र मनोरञ्जनका लागि खर्च गर्न तयार हुने हुनाले चलचित्रकर्मीले यसलाई उच्च आम्दानीको स्रोत मान्छन् । यही कारण हरेक वर्ष दसैँमा एकभन्दा बढी चलचित्र प्रतिस्पर्धामा उत्रिने गर्छन् । यसरी एकै समयमा धेरै चलचित्र जुधाउँदा त्यसको फाइदा कसैलाई पनि नहुने भन्ने यथार्थलाई प्रायः चलचित्रकर्मीले बेवास्ता गर्ने गर्छन् । उनीहरूले आफूलाई मात्रै फाइदा हुने सोचे पनि यसले समग्र बजारलाई नै कमजोर बनाइरहेको हुन्छ ।

नेपालको चलचित्र बजार तुलनात्मक रूपमा अत्यन्तै सानो छ । सामान्य अवस्थामा पनि एक हप्तामा एउटा चलचित्र चलाउन ठुलो चुनौती हुने गर्छ । सिनेमाघरहरूमा पर्याप्त दर्शक नहुँदा एउटै चलचित्रलाई समेत सो पाउन र लगानी उठाउन मुस्किल हुन्छ । यस्तो अवस्थामा जब एकै पटक धेरै चलचित्र एकै मैदानमा उत्रिन्छन्, त्यसले सबैको व्यापारमा नकारात्मक असर पार्छ । दर्शक बाँडिने र कुनै पनि चलचित्रले पर्याप्त कमाइ गर्न नसक्ने हुँदा त्यसको सिधा असर चलचित्रको लगानी उठाउन र आगामी चलचित्र निर्माण गर्नमा पर्छ ।

यो प्रवृत्तिले चलचित्र क्षेत्रमा एउटा विचित्रको चव्रm सिर्जना गरेको छ । सबैले राम्रो आम्दानीको आशामा दसैँलाई रोज्छन्, तर एकै पटक धेरै चलचित्र आउँदा न त लगानी उठ्छ, न त आशा गरे जस्तो व्यापार नै हुन्छ । यसले नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासमा गम्भीर प्रश्नचिह्न खडा गरेको छ । यस वर्ष पनि पुरानै गल्ती दोहोरिएको छ र यसको परिणाम कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । नेपाली चलचित्र उद्योगलाई साँचो अर्थमा फस्टाउन प्रतिस्पर्धाभन्दा पनि सहकार्य र योजनाबद्ध प्रदर्शनको खाँचो छ, ताकि सबै चलचित्रले आफ्नो लगानी उठाउन र दर्शकको माया पाउन सकोस् । यो अवस्थालाई सुधार्नका लागि चलचित्रकर्मीले सामूहिक रूपमा सोच्नु र भविष्यका लागि ठोस योजना बनाउनु जरुरी छ ।

-सुकृत नेपाल