जनकपुरधाम, असोज ७ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाएर अघि बढ्नुको विकल्प नभएको भन्दै त्यसका लागि मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
मधेश प्रदेश सभाको मंगलबारको वैठकमा बोल्दै उहाँले संघीयता आएपछि केही नभएको भने भ्रामक प्रचार गरेर संघीयता समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै त्यस्ता षडयन्त्रविरुद्ध हामी सबै राजनीतिक दल एकताबद्ध हुनु जरुरी रहेको बताउनुभयो । उहाँले देशमा संघीयता आएपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा धेरै विकास भएको भन्दै यस विषयलाई आम नेपाली जनता समक्ष पुर्याउनु पर्ने बताउनुभयो । उहाँले २०७२ भन्दा पहिले भएको कामकाज र २०७२ पछिको कामकाजको तुलना गर्दा विगतभन्दा धेरैै सुधार भएको दावी गर्नुभयो ।
उहाँले जेनजी पुस्ताले गरेको दुई दिनको आन्दोनको क्रममा माओवादी १० वर्षे जनयुद्धभन्दा पनि बढी क्षति भएको भन्दै प्रदेश सरकारको संरचनामा क्षति हुन नदिन र आन्दोलनको क्रममा जनकपुरधाममा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले तत्काल आफूले पार्टीकै सल्लाहमा सामाजिक सञ्जालमा राजीनामा गरेको बताउनुभयो । उहाँले अहिले पार्टीभन्दा माथि उठेर संघीयताको रक्षा गर्न हामी सबैले पैैरवी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका एक नेतालाई आफ्नो राजीनामाको विषयमा बढी हतार भएको र आफू हटेपछि मुख्यमन्त्री बन्छु भन्ने लागेकाले आफूविरुद्ध जथाभावी बोल्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको समय संघीयतालाई कसरी जोगाउने हो त्यसविषयमा हामी सबै केन्द्रित हुनुपर्छ ।” उहाँले आफू एउटा दलको सिपाही मात्र नभइ पूरै प्रदेशको मुख्यमन्त्री रहेको भन्दै संघीयतालाई जोगाउन आफूले राजीनामा नदिएको कुरा यसअघि प्रष्ट गरिसकेको बताउनुभयो । उहाँले मधेश प्रदेश संघीयताको जननी भएको भन्दै यसको रक्षाका लागि पनि मधेश प्रदेशले नै एकताबद्ध भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।
– धर्बेन्द्र झा