09/21/2025, 12:02:46
आइतबार, असोज ०५, २०८२

यातायात व्यवस्थापन सहज बनाउन निर्देशन


काठमाडौँ, असोज ५ : सरकारले दसैँ र तिहार लगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउनुका साथै सडक तथा राजमार्गमा निर्वाध सवारीसाधन चलाउने वातावरण बनाउन विभिन्न निर्णय गरेको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसहित नेपाल प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहित शनिबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन तथा देशभरिकै सडक तथा राजमार्गमा सहज किसिमले सवारीसाधन सञ्चालन गर्न सकिने गरी आवश्यक तयारी पूरा गर्न मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई निर्देशनसमेत दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँ, तिहार र छठलगायतका पर्वमा आमनागरिकलाई गन्तव्यमा पुग्न सडकका कारण कुन कठिनाइ नहोस् भन्ने उद्देश्यले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउनेलगायत सडक सुरक्षाको विषयमा विभिन्न सात वटा निर्णय गरिएको जानकारी दिनुभयो ।

सचिव शर्माले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको सम्बन्धमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनमध्ये यात्रुवाहक सार्वजनिक सवारीसाधन सो सुरुङमार्गबाट बाहिर जाने र दसैँपछि सवारीसाधन प्रवेश गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी बैठकले सुरक्षा व्यवस्थापनको सम्बन्धमा काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गर्न/गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

भारी सवारीमा रोक

विस्तारका क्रममा रहेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा दसैँसम्म ठुला भारवहन (१२ चक्के र सोभन्दा माथि) का सवारीसाधन सञ्‍चालन नगर्न/नगराउन अनुरोध गर्ने तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने÷गराउने निर्णय गरिएको सचिव शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी बैठकले मुलुकभरिका मुख्य सडकलाई चुस्तदुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपत्को व्यवस्थापन गर्न आवश्यक समग्री तथा यन्त्रको व्यवस्थापन गर्न, बुटवल–नारायाणगढ सडकको दाउन्ने खण्डमा चौबिसै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न/गराउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।

छिट्टै सडक खुलाइने

बैठकमा सचिव शर्माले अवरुद्ध बनेका सडक छिट्टै खुलाउने गरी जनशक्ति र उपकरण तैनाथ गरिएको जानकारी दिनुभयो । उहाँले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मुख्य राजमार्ग र सडक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको बताउनुभयो ।

बैठकमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बाढीपहिरोका कारण अहिलेको राजमार्ग र सडकको अवस्था ज्यादै नै कमजोर रहेको बताउँदै रातिमा चल्ने सवारीसाधनलाई दिउँसो सञ्चालन गर्न माग गर्नुभयो ।