09/19/2025, 18:19:47
शुक्रबार, असोज ०३, २०८२

आगजनी गरिएका सवारीसाधन सिंहदरबारबाट हटाइँदै


३ असोज, काठमाडौं : जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिए ।

जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबारमा रङरोगन गर्न थालेका छौँ,’ उनले भने, ‘तोडफोड भएका सवारीसाधन मर्मत भइरहेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण कुरूप देखिएको भन्दै त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।