11/18/2025, 00:05:19
सोमबार, मङि्सर ०१, २०८२

एनसेल २० वर्ष पूरा : आगजनीकै बिच एनसेलको निरन्तरता


काठमाडौँ, असोज १ : बहुमत विदेशी लगानीको दूरसञ्चार सेवाप्रदायक एनसेलले नेपालमा सेवा सुरु गरेको बुधबार २० वर्ष पूरा हुँदै छ । नेपाली प्रयोगकर्तालाई सहज रूपमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको दुई दशक पूरा भएको यस अवसरलाई एनसेल विशेष बनाउने तयारीमा थियो । २० वर्ष पूरा हुने सँघारमै एनसेलले अहिलेसम्मकै सबैभन्दा ठुलो क्षति बेहार्नु परेको छ ।

काठमाडौँको लैनचौरस्थित एनसेलको मुख्य प्रशासनिक केन्द्र आगजनीले ध्वस्त छ, कर्मचारीले प्रयोग गर्ने कम्प्युटर, ल्यापटप चोरी भएका छन् । भूमिगत दुई वटा पार्किङमा रहेका सवारी तोडफोड र आगजनीले प्रयोगयोग्य छैनन् । एनसेल आइकन नाम दिइएको उक्त भवनमा नियमित काम गर्ने चार सयभन्दा बढी कर्मचारी यतिबेला घरबाटै काम गर्न बाध्य छन् ।

जेन-जी प्रदर्शनको दोस्रो दिन भदौ २४ गते साँझबाट जलिरहेको एनसेलको उक्त भवनको सञ्चालन पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित थियो । उक्त प्रणालीमा समेत क्षति पुगेपछि भवनका माथिल्ला तलामा प्रवेश गर्ने अवस्था छैन । त्यसैले कम्पनीले आगजनी र तोडफोडले भएको क्षतिको अहिलेसम्म औपचारिक यकिन गर्न सकेको छैन । यसबाहेक महेन्द्रनगर, धनगढी र पोखरामा रहेका कम्पनीका क्षेत्रीय कार्यालय पनि आगजनी र डकैतीले सञ्चालन गर्न नसक्ने अवस्था छन् ।

विभिन्न समयमा विभिन्न विषयले चर्चा र विवादको निसानामा परेको एनसेलले त्यसबाट पार पाए पनि अहिले जस्तो भौतिक क्षति बेहोर्नु परेको थिएन । क्षतिलाई परवाह नगरी कम्पनीले आफ्नो भवनमा आगो लागिरहेकै समय दुई दिनका लागि निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने घोषणा ग¥यो । आगजनीका कारण सेवा नै अवरुद्ध हुन सक्ने अनुमानका विपरीत एनसेलको घोषणा आश्चर्य बनाउने किसिमको थियो ।

भवनमा त्यति ठुलो क्षति हुँदा पनि सेवा नियमित गर्न कसरी सम्भव भयो त ? एनसेलका अनुसार सेवा नियमित गर्न आवश्यक पर्ने प्राविधिक प्रणालीमा कुनै क्षति नहुँदा त्यसको असर प्रयोगकर्ताले बेहोर्नु परेन । एनसेलको मुख्य भवनमा प्रशासनिक मात्र काम हुन्छ । त्यसबाहेक नक्खु, हेटौँडा र पोखरामा कम्पनीको डेटा सेन्टर छ जसमा कुनै क्षति हुन पाएन  यसकारण एनसेलको सेवामा अवरोध भएन । डेटा सेन्टरमा पनि क्षति पुगेको भए कम्पनीलाई सेवा नियमित गर्न अप्ठ्यारो हुने अवस्था थियो । यसबाहेक देशभर रहेका कम्पनीका चार हजार चार सयभन्दा बढी टावरमा कुनै क्षति नहुँदा कहीँ कतै पनि सेवा अवरुद्ध नभएको कम्पनीले जनाएको छ ।

अहिलेकै अवस्थामा भवनमा क्षति भए पनि घरबाटै काम गरेर नियमित प्रकृतिका काम अघि बढाइरहेको पनि कम्पनीले जानकारी दिएको छ । “हामी अझै दृढ सङ्कल्प र सहनशीलताका साथ देश र जनताको सेवामा प्रतिबद्ध छौँ,” कम्पनीले इमेलमा उल्लेख गरेको छ ।

सरकारी लगानीको दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) ले मात्र दूरसञ्चार सेवा उपलब्ध गराइरहेको अवस्थामा एनसेलले २०६२ भदौदेखि नेपालमा दूरसञ्चार सेवा सुरु गरेको थियो । सिमकार्ड लिन लामो लाइन बस्नुपर्ने र भनसुन गर्नुपर्ने अवस्थामा एनसेलको उपस्थितिले धेरैलाई सहजैसँग दूरसञ्चार सेवामा जोड्न सम्भव बनाएको थियो ।

स्पाइस नेपाल कम्पनीमार्फत ‘मेरो मोबाइल’ ब्रान्डमा सेवा सुरु गरेको कम्पनीमा युरोपको टेलियासोनेरा, मलेसियाको एजियटा गु्रपले लगानी गरेर त्यसबाट बाहिरिएका छन् । अहिले नेपाली मूलका विदेशी नागरिक सतीशलाल आचार्यको बहुमत लगानी रहेको एनसेलले स्थापनायता विभिन्न शीर्षकमा तीन खर्ब ६० अर्ब रुपियाँ कर बुझाइसकेको जनाएको छ ।

कुनै समय वार्षिक ६० अर्ब रुपियाँ नजिक आम्दानी गरेको एनसेलको आम्दानी पछिल्लो समय निरन्तर घट्दै ४० अर्ब रुपियाँ तल आइसकेको छ । १० हजारभन्दा बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिइरहेको कम्पनीले अहिले एक करोड ४० लाख जनालाई फोरजी सेवा उपलब्ध गराइरहेको छ ।