२७ भदौ, काठमाडौं : जेन-जीको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रत्यक्ष प्रभाव परे पनि शुक्रबारदेखि केही सहज बनेको छ ।
नेपाली सेनाले निषेधाज्ञाको समय घटाएपछि तरकारी बजारमा ताजा तरकारी भित्रिन थालेका छन् । विभिन्न जिल्लाबाट तरकारी भित्रिन थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार शुक्रबार बिहान ७ बजेसम्म कालीमाटी तरकारी बजारमा ५ सय टन ताजा तरकारी भित्रिएको थियो । ‘काठमाडौं आसपासका जिल्लासँगै तराईबाट पनि ताजा तरकारी भित्रिएको छ । भन्सार पास भएका आलु र प्याज पनि आएको छ,’ सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘तुलनात्मक रुपमा शुक्रबार तरकारीको आगमन र बिक्री वितरण राम्रो भयो ।’
समितिका अनुसार अहिलेको सिजनमा औसत दैनिक साढे ६ सयदेखि ७ सय टन तरकारी कालिमाटी बजारमा भित्रिन्छ । धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि तरकारी आयात हुन्छ । शुक्रबार भित्रिएको परिमाण सन्तोसजनक रहेको तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले जनाए । ‘शुक्रबार बजार राम्रो चल्यो । तरकारीहरु पनि भित्रियो, होलसेल बजारमा भित्रिएको तरकारी खुद्रा पसलमा पनि गएको छ,’ उनले भने, ‘निषेधाज्ञाले केही समस्या पारेपनि शुक्रबार धेरै सामान आएको छ । शनिबारदेखि थप सुधार हुँदै जाने विश्वास छ ।’
कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीले उपत्यकाको करिब ७० देखि ७५ प्रतिशत माग धान्छ । बाँकी, बल्खु, बालाजु, टुकुचा, कोटेश्वर, चाबहिल लगायत तरकारी बजारले धान्दै आएको छ ।