काठमाडौँ, भदौ २४ : उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रासम्बन्धी फोटो प्रदर्शनी सोमबार सुरु भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले वसन्तपुर परिसरमा इन्द्रजात्राको अवसरमा आयोजना गरिने विविध सांस्कृतिक क्रियाकलापबारे खिचिएका विशेष तस्बिर प्रदर्शनीमा राखिएको हो । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले फोटो प्रदर्शनीको उद्घाटन गर्दै नेपाली कला, संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “इन्द्रजात्रा हाम्रो मौलिक पर्व हो, यसको हरेक गतिविधि सांस्कृतिक धरोहर, नेपालीको पहिचान हो । यस्ता प्रदर्शनीले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउन सहयोग पुर्याउँछ ।”
‘मेड इन काठमाडौँ फेस्टिभल’ अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनी नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल–२०२५ को पनि एक महत्वपूर्ण कार्यक्रम हो । नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५ एक ऐतिहासिक र सांस्कृतिक उत्सव हो, जसले नेपालको समृद्ध कला, संस्कृति, परम्परा, खानपान र सम्पदाको विविधता प्रस्तुत गर्ने जमर्को गरेको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले प्रदर्शनीमा राखिएका तस्बिरले काठमाडौँको जीवन्त सम्पदा र मौलिक परम्पराको विविध आयामलाई बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनी संयोजक तथा एनएफपिजेका उपाध्यक्ष सुनील शर्माले राजधानीको सांस्कृतिक वैभव, गौरव र जीवन्ततालाई फोटोमार्फत अभिलेख गर्ने उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका, राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल कला परिषद्लगायतका सङ्घ संस्थाको सहकार्यमा आयोजित प्रदर्शनीमा इन्द्रजात्रामा आठ दिनसम्म मनाइने विविध सांस्कृतिक गतिविधि लगायत लाखे, भैरव नृत्य, पुलुकिसी, कुमारी, भैरव, गणेश रथयात्रा, धार्मिक अनुष्ठान, सामाजिक उत्सव लगायत सबै गतिविधिलाई तस्बिरमा कैद गरिएको छ ।
साथै साना उद्यम विकास कार्यक्रमबाट महिलाले उत्पादन गरेका ढाका, माटो, खोस्टाका सामग्री खानाको परिकारका स्टलसमेत ‘मेड इन काठमाडौँ’ कार्यक्रम अन्तर्गत राखिएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










