१७ असोज, काठमाडौं । काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शीर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेस युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ। बिहीबार लिगमा आफ्नो चौथो खेल खेलेको काठमाडौँ स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिका शीर्ष दुईको सम्भावना बलियो बनाएको हो। यता, मधेस भने लगातार चौथो हारसँगै बाहिरिने भएको छ।
सेटमा अग्रता जोगाउन नसक्दा मधेसले हार व्यहोरेको हो। पहिलो सेट मधेसले २५–१५ ले सहजै आफ्नो बनाउँदै काठमाडौँविरुद्ध राम्रो सुरुवात गर्यो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट काठमाडौँ स्पाइकर्सले मधेस युनाइटेडलाई २५–२३ ले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्यायो। त्यसपछि भने मधेसले लय जारी राख्न सकेन। तेस्रो सेट मधेसले २५–१५ ले सहजै गुमायो र काठमाडौँ स्पाइकर्सले अग्रता लियो। चोथो सेटमा पनि मधेस लय फर्कन सकेन। यसको फाइदा लिँदै काठमाडौँले २५–१८ ले सहजै आफ्नो बनायो। यससँगै काठमाडौँ स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा तेस्रो जित आत्मसात् गरेको हो।

काठमाडौँ स्पाइकर्स चार खेलबाट ९ अंक बटुल्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। भ्याली डर्बीमा काठमाडौँले ललितपुर क्विन्ससँग खराब हार व्यहोर्दै लिगको सुरुवात गरेको थियो। तर काठमाडौँ स्पाइकरले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो। उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौँ स्पाइकर्स तीनै खेलमा सोझो सेटमै जितेर लयमा फर्कियो। यता निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस चारै खेलमा सोझो सेटमै नतिजा सुम्पिँदा अझै अंकविहीन छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














