११ भदौ, काठमाडौं : अभिनेता दयाहाङ राईले सिनेमा ‘रिमै’ नेपाली सिनेमा उद्योगमा फरक आयाम छोड्ने सिनेमा हुने बताएका छन् । मंगलबार पत्रकारसँगको अन्तरक्रियामा उनले गुरुङ समुदायको कथा बोकेर आएको सिनेमा भएकाले यसले फरक आयाम छोड्ने बताए ।
‘रिमै’ले गुरुङ समुदायको कला, संस्कार, संस्कृति, भेषभुषा र जीवन दर्शन बोल्ने उनको भनाइ छ । गुरुङ समुदायको संस्कार र जीवन दर्शन बुझाउन यो सिनेमाले ठूलो भूमिका खेल्ने उनको बुझाई छ । राई, लिम्बु, मगर, थकाली, शेर्पा, गुरुङ लगायतका समुदायको संस्कार र संस्कृति उस्तै-उस्तै देखिए पनि यथार्थमा फरक रहेको उनी बताउँछन् ।
‘नाता र सम्बन्धका हिसाबले यो सिनेमामा पनि ‘कबड्डी’मा जस्तै सोल्टा र सोल्टिनीबीचको प्रेम कथा र हकदाबी देखाए पनि वास्तवमा धेरै फरक छ,’ दयाहाङले भने, ‘सोल्टा र सोल्टिनी छ, उस्तै कथा त होला भने पनि त्यस्तो होइन । बोलाउने सम्बन्ध र नाम मात्रै एउटै हो, अरु केही कुरा पनि मिल्दैन ।’ आफूले यो सिनेमामा काम गर्दा गुरुङ समुदायको थोरै कुरा भए पनि बुझ्ने मौका पाएको बताए ।
अभिनेत्री रिश्मा गुरुङले आफ्नै समुदायकै कथा भएकाले आफू दश वर्षपछि सिनेमामा फर्किएको बताइन् । गुरुङ समुदायको कथा नभएर अरु कथा भएको भए आफूले यो सिनेमामा काम नगर्ने उनले प्रष्ट पारिन् ।
‘म मेरै बुवा, बाजेले मलाई सिकाएको संस्कार र संस्कृति समेटिएको कथा छ भने किन काम नगर्ने भनेर समय नहुँदा नहुँदै पनि काम गरेको हुँ,’ रिस्माले भनिन्, ‘यो सिनेमाका लागि अफर आउँदा सुरुमा त म काम गर्दिनँ भनेँ । तर, जब स्क्रिप्ट आयो त्यसपछि किन गर्ने भन्दा पनि किन नगर्ने भन्ने प्रश्न चाहिँ आयो ।’
गुरुङ समुदायको मेनस्ट्रिममा बनेको पहिलो सिनेमा पनि भएकाले आफूले ‘रिमै’मा काम गरेको उनले सुनाइन् । विभिन्न अफ्ठ्यारा र कठिनाइबीच काम गरेको उनले स्मरण गरिन् । अमेरिकामा भर्खर सेटल भएको काम छोडेर र सेटमा आर्थिक पाटोको विवाद हुँदा पनि यो सिनेमाको कथा कै कारण आफूहरूले समस्या हल गरेको उनले बताइन् ।
टेक्निकल कारणले सिनेमा अफ्ठ्यारोमा पर्दा आफैँले इनिसिएसन लिएर छायांकन सकेर आजको दिनसम्म आइपुगेको अभिनेता दयाहाङ राईले बताए । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ यही भदौ २० गते रिलिज हुँदैछ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।
सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।