२ भदौ, विराटनगर : राजनीतिमा फर्कने उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुट नचलाएको दाबी गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा भण्डारीले भनिन्, ´मलाई गुटसुट चलाउन आउँदैन, यो आरोपको खण्डन गर्छु।´
आफ्नो एमाले सदस्यता सक्रिय रहेको र पार्टीको नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् । उनले आफू एमालेको ४५ वर्षभन्दा लामो कार्यकर्ता भएको स्मरण गराउँदै पार्टीको हितमा काम गर्ने बताइन् ।
गत असार १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि पार्टीको केन्द्रीय समितिले उनको सदस्यता खारेज गरेको थियो । तर भण्डारीले आफूले पार्टीको विधान अनुसार सदस्यता नवीकरण गरिसकेको बताउँदै, आफ्नो अभियान जारी राख्ने स्पष्ट पारेकी छन् ।
वाम एकताको चर्चाबारे उनले तत्काल बलियो सम्भावना नदेखिएको बताइन् । भनिन्, `तर, पूर्ण असम्भव भने छैन ।´
भण्डारीले आफ्नो राजनीतिक जीवनलाई पदपछिको अवधिमा पनि जारी राख्न सकिने र प्रत्येक नागरिकले निर्वाचित भएर फर्किन सक्ने कुरा उल्लेख गरेकी छन् । उनले पार्टीको औपचारिक निर्णयबारे जानकारी नहुँदा पनि आफ्नो सदस्यता र पार्टी प्रतिबद्धता कायम रहेको पुनः स्पष्ट पारेकी छन् ।