08/17/2025, 22:10:17

‘पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु हुन्न’


कञ्चनपुर, भदौ १ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु गलत भएको भन्दै फर्काउन लाग्नेहरू सच्चिन आवश्यक रहेको बताउनुभयो ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले राष्ट्रपति र उपराष्ट्रपतिको सम्मानित भूमिका अरूभन्दा फरक रहेको बताउनुभयो ।

फरक भूमिकामा रहेका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु पार्टी र व्यक्तिको कमी-कमजोरी हुने उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्र) ले गरेको कमजोरी अनुसरण नगरी उनीहरूले गरेका कमजोरी हटाउन आफूहरूले नैतिक दबाब सृजना गर्नेखालको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैगरी महासचिव पोखरेलले नेपाली राजनीतिभित्र हुर्किरहेको अवसरवाद र अराजकतालाई एमालेले जित्न सक्नुपर्नेमा जोड दिनुभयो । अवसरवाद र अराजकताले विसं २०७९ को स्थानीय तह र प्रदेश, प्रतिनिधि सभाको चुनावमा कञ्चनपुरबाट पार्टीले हार बेहोर्नुपरेको स्मरण गराउनुहुँदै महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन अनुशासन र एकता अपरिहार्य रहेको बताउनुभयो ।

अनुशासन र एकताको अभावमा कुनै पनि पार्टीले सफलता हासिल गर्न नसक्ने उहाँले बताउनुभयो । कञ्चनपुरमा विगतमा जे-जस्तो भए पनि अब दोहोरिनु नपर्ने बताउनुहुँदै उहाँले राजनीतिभित्र हुर्किरहेको अराजकता र अवसरवादलाई हटाउनुपर्ने बताउनुभयो ।