08/17/2025, 14:00:48

ठेकेदारको लापर्बाही : बुल्दीखोला पुल अलपत्र


तनहुँ, भदौ १ गते । निर्माण कम्पनीको लापर्बाहीले गर्दा तनहुँको बुल्दीखोलामाथि बन्दै गरेको पुल अलपत्र परेको छ । व्यास नगरपालिका–३, देउरालीनगर, बिसघरे र वडा नं. १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दीखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।

तीन वर्षअघि नै पुल निर्माण हुनुपर्नेमा हालसम्म पुलको भौतिक प्रगति ३८ प्रतिशत मात्रै भएको छ । निर्माण भएको काम पनि गुणस्तरहीन भएपछि भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको भए पनि ठेकेदारले बेवास्ता गर्दा काम अलपत्र अवस्थामा छ । अनुगमनका क्रममा गुणस्तरहीन भएको पाइए पनि पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुनर्निर्माणका लागि निर्देशन दिएको थियो । सो निर्देशनपछि पुलको काम अघि नबढेको कुरा पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर इन्जिनियर रवीन्द्र तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार दुई पिल्लरमध्ये बनाएको एक पिल्लर गुणस्तरहीन भएकाले भत्काएर सुधार गर्न लगाएको तर ठेकेदार पक्षबाट बेवास्ता गरिएको छ । कमजोर भागलाई तीन महिनाअघि ठेकेदारले भत्काएको भए पनि पुनर्निर्माण काम भने नगरेको उहाँले बताउनुभयो । प्राविधिकले परीक्षण गर्ने क्रममा बिममाथिको ढलान गुणस्तरहीन रहेको पाइएकाले पुनर्निर्माण गर्न लगाइएको तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार २०७७ सालमा सम्झौता गरेर २०७९ सालमा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम सुरु गरे पनि हालसम्म ३८ प्रतिशत मात्रै काम भएको छ । कार्यालयका अनुसार पुल निर्माणका लागि पाँच करोड १० लाख ३३ हजार बजेट विनियोजन भएको थियो ।

व्यास नगरपालिका–१, विज्ञानचौरमा रहेको विद्युत् टान्सफर्मर स्थानान्तरण नहुँदा पुल निर्माण काममा कठिनाइ भएकाले हटाउन लागिएको छ । व्यास नगरपालिका–१, २ र ३ भित्र पाँच विद्यालय र एक कलेज रहेका छन् । वर्षायामको समयमा बुल्दीखोला ठुलो हुने भएकाले पढ्न जाने विद्यार्थी र सर्वसाधारणले कठिनाइ भोग्नु परेपछि सो स्थानमा पुल निर्माण गर्न लागिएको हो ।