08/15/2025, 12:09:02

सामाजिक विकास कार्यालय, मठमन्दिरदेखि घाटसम्मको काम


बागलुङ, साउन ३० : गत आर्थिक वर्षमा सामाजिक विकास कार्यालय बागलुङले १४५ वटा पूर्वाधार निर्माण गरेको छ । सामाजिक विकासको क्षेत्रमा काम गर्ने मुख्य उद्देश्य भए पनि कार्यालयले मठमन्दिर निर्माण, विद्यालय भवन निर्माण र मर्मत तथा खेलमैदान लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

समाजका सबै क्षेत्रमा क्रियाशील कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै मठ-मन्दिरमा लगानी गरेको छ । सो कार्यालयका अनुसार १० वटा मन्दिर निर्माण गर्दा १५ वटा मठ-मन्दिरको स्तरोन्नतिसमेत गरिएको छ ।

त्यस्तै गत वर्ष १० वटा विद्यालय भवन निर्माण, विद्यालयका २२ स्थानमा घेरबार, पाँच वटा खेल मैदान निर्माण, छ वटा विद्यालय स्तरोन्नति र छ वटाको ट्रस्ट निर्माण गरेको हो । सोही अवधिमा तीन वटा पार्क, एउटा घाट, सात वटा शौचालय र पाँच वटा कबर्ड हल निर्माण गरेको कार्यालयका प्रमुख हिमाल घर्तीमगरले जानकारी दिनुभयो ।

बाल क्लब र सञ्जाल गठनमा आर्थिक सहयोग, बाल अधिकार, महिला तथा दलित र जनजातिको क्षेत्रमा अधिकारमुखी अवधारणाका कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्थालाई सहयोग प्रदान गर्ने, सरकारी निकायले आयोजना गर्ने प्रतियोगितामा पुरस्कारको व्यवस्थापन गर्ने काम पनि कार्यालयले गरेको छ ।

प्राथमिक तथा माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण, बाल उद्यान, खेल सामग्री खरिदलगायतमा पनि कार्यालयले काम गरेको छ । पूर्वाधारमा सानो सानो लगानी गर्दा सोचे झैँ प्रतिफल नआएको उहाँले बताउनुभयो ।

सामाजिक विकास कार्यालयले गर्ने कामलाई कतिपयले टुक्रे योजनाको कार्यान्वयन गराउने स्थान भएको पनि टिप्पणी गरेका छन् । उक्त कार्यालयको बजेटलाई एकमुष्ट बनाएर ठुला योजनामा लगाउन गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूको आग्रह छ । बागलुङ नगरपालिका–२ का सदस्य अर्जुन घिमिरेले भन्नुभयो, “काम त गरेकै छ, तर देखिने गरी वितरण गर्दा राम्रो हुन्छ । उद्देश्य अनुसारका काम गर्दा प्रभावकारी हुन्थ्यो ।