१४ असोज, काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म श्रृंखला ‘कबड्डी’मा मैयाँ भूमिकाले चर्चित अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् । ‘कबड्डी ३’ पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । उनी अमेरिकामा श्रीमानसँग बस्दै आएकी छिन् ।
काठमाडौं फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग फिल्ममा कमब्याकबारे कुरा गरिन् । कथावस्तु मन परेकाले ‘रिमै’बाट फर्किन आफू तयार रहेको उनले बताइन् । उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’
रिश्माले दयाहाङ र सौगातसँग ‘कबड्डी’ श्रृंखलामा काम गरिसकेकी छिन् । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने फिल्मलाई वीरबहादुर घलेले निर्माण गर्दैछन् । असोज २८ देखि गोरखाको सिरानचोकबाट छायांकन सुरु हुँदैछ । फिल्ममा रिश्मा, दयाहाङ र सौगातसँगै कविता आले र माओत्से गुरुङको मुख्य भूमिका हुनेछ ।
‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको छायांकन घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै सुरु हुनेछ ।