08/13/2025, 22:10:55
वात्सल्य एभरेष्ट महिला भलिबल लिग

काजकिस्तानकी अलेना काठमाडौँ स्पाइकर्समा अनुबन्ध


काठमाडौँ, साउन २८ : काजकिस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौँ स्पाइकर्सले अनुबन्ध गरेको छ ।

काठमाडौँ स्पाइकर्सले बुधबार दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम सार्वजनिक गरेको हो । टोलीले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ ।

२९ वर्षीय अलेना अपोजिट हिटर हुनुहुन्छ । अलेनाले काजकिस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसक्नुभएको छ । उहाँ एभिसी महिला च्याम्पियन्स लिग पनि खेल्नुभएको छ । दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध गरेपपछि काठमाडौँ स्पाइकर्स अझ सन्तुलित र बलियो भएको टोलीको विश्वास छ ।

लोकबहादुर बुढा प्रशिक्षक रहेको काठमाडौँको अन्य खेलाडीहरुमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य स्पाइकर उषा भण्डारी (मार्की प्लेयर), मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द हुनुहुन्छ ।

दोस्रो संस्करणको इडब्लुभिएल फ्रेन्चाइज लिग भदौ २० देखि २८ गतेसम्म हुँदैछ । लिगका लागि प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ ।