ढाका, साउन २६ : बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उहाँकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ ।
सुनुवाईका क्रममा भ्रष्टाचार निरोधी आयोग (एसीसी) का तीन जना अधिकारीहरूले राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटहरूको कथित भूमि हडप्ने तीन अलग–अलग मुद्दाहरूमा आरोपहरू पढेर सुनाएका थिए । हप्तौंको विद्यार्थी आन्दोलनको बलमा हसिनामाथि राजनीतिक दवाव परेपछि सन् २०२४ अगष्ट ५ मा हेलिकप्टरबाट बङ्गलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौँ मुद्दामा संलग्न रहेको आरोप लागेको छ ।
उहाँले विद्रोहमा भएको घातक दमनलाई लिएर मानवताविरुद्धको अपराधको अभियोगमा आफ्नो छुट्टै र चलिरहेको सुनुवाईमा उपस्थित हुनेसहित भारतबाट फर्कने आदेशको अवहेलना गर्नुभएको छ । हसिनासहित उहाँका छोरा सजिब वाजेद जोय र नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्व एसिया प्रमुखका रूपमा कार्यरत छोरी साइमा वाजेदलाई भ्रष्टाचारको छ वटा अभियोगमा मुद्दा चलाइएको छ ।
“यदि शेख हसिना, उहाँका छोरा सजीब र छोरी साइमा यस मुद्दामा दोषी ठहरिएमा १४ वर्षको जेल सजाय हुन सक्छ,” एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले एएफपीसँग भन्नुभयो । वाजेद डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा रहनुभएको छ र एक नयाँ अधिकारीले ‘अफिसर–इन–चार्ज’ को रूपमा पद ग्रहण गर्नुभएको छ ।
हसिनासँग सम्बन्धित भ्रष्टाचारका छ वटा मुद्दा दर्ता भएका छन् । अन्य मुद्दाहरुमा हसीनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकसहित उनका छोराछोरीको पनि नाम जोडिएको छ । गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचार विरोधी मन्त्री सिद्दिकले राजीनामा दिनुभएको छ । सिद्दिकका वकिलले बेलायती सांसद्माथि लगाइएको आरोप झुटो भएको बताउनुभएको छ ।