२२ साउन, बर्दिया : बर्दियाको सदरमुकाम गुलरिया सहरको भविष्य अहिले पनि बबई नदीको तटबन्धको जगमा निर्भर देखिएको छ । बबई नदीको बारम्बारको बाढीले नगरको अधिकांश क्षेत्र उच्च जोखिममा पार्दै गएको छ । गुलरिया नगरपालिकाका १२ वडामध्ये वडा नं. २, ४, ५, ६, ८, १०, ११ र १२ बाढीको सधैँ चपेटामा पर्ने गरेका छन् ।
२०७१ सालको बाढीले गुलरियामा मात्र एक हजार चार सय घरधुरी पूर्ण रूपमा क्षतिग्रस्त बनाएर एक दर्जन नागरिकको ज्यान लिएको थियो । त्यही वर्ष बर्दिया जिल्लाभर ३२ जनाको ज्यान गएको थियो । त्यसपछि २०७४ सालको बाढीमा आठ जनाको ज्यान गयो भने सयौँ परिवार विस्थापित हुन बाध्य भए । २०७४ साल साउनमा आएको बाढीले जब्दी पुल भासिएको थियो भने २०७९ सालको बाढीमा पुलका दुई वटा स्ल्याब बगाएर लगेको थियो ।
यसरी पटक पटक बाढीको मार खेप्दै आएको गुलरिया अहिले पनि जोखिममुक्त बन्न सकेको छैन । सरकारको पहलमा सुरु गरिएको ‘बबई, भादा औरही नदी व्यवस्थापन आयोजना’ समयमै काम सम्पन्न नहुँदै आर्थिक वर्ष २०८२/८३ को बजेटसहित कार्यालय नै डडेलधुरा स्थानान्तरण भएपछि बबई तटबन्धको मर्मत र व्यवस्थापन थप अन्योलमा परेको छ ।
तटबन्ध अभावमा नदीको जुनसुकै भागबाट पस्ने पानी गुलरियाको बजार क्षेत्रमा सजिलै प्रवेश गर्न सक्छ । गुलरिया नगरपालिकाका पशुहाट, पण्डितपुर, बगही, बेचेपुर, रामपुर टापु, सरजीगौडी, भैसाही जस्ता बस्ती अझ बढी जोखिममा रहेका छन् । हाल बबई नदी व्यवस्थापनको जिम्मा राजापुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयलाई दिइएको छ । आयोजना प्रमुख सुदिन मोक्तानका अनुसार कागजी प्रक्रिया पूरा नहुँदा काम अगाडि बढ्न सकेको छैन । उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको सदरमुकामको यथार्थ अवस्था कागजमा मात्र सीमित हुँदै गएको छ ।”
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले सरकारको बेवास्ता र योजनाको कार्यान्वयन नहुनु बर्दियावासीमाथिको अन्याय भएको बताउनुभयो । बर्दिया–१ का सङ्घीय सांसद सञ्जय कुमारले २०७४ सालमा स्थापना भएको आयोजना कार्यालयले काम थाल्न नपाउँदै स्थानान्तरण हुनु गम्भीर लापर्बाही भएको टिप्पणी गर्नुभयो । बबई नदीको बाढीबाट गुलरियालाई जोगाउन सशक्त र दीर्घकालीन योजना आवश्यक देखिएको छ । तटबन्ध व्यवस्थापन र जोखिम न्यूनीकरणमा राज्यको गम्भीर ध्यान नपुगेसम्म सदरमुकाम सधैँ बाढीको त्रासमै बाँधिने देखिएको छ ।