१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा राष्ट्रिय भेलाको समीक्षा समेत भएको छ । भेला सोचे भन्दा व्यवस्थित भएको र सहभागी पनि अपेक्षा गरिए भन्दा धेरै भएको भन्दै उनले भने, ‘यो हाम्रो पार्टीका लागि टर्निङ प्वाइन्ट भएको छ ।’