१५ साउन, काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको विवाद चर्किँदै गएको अवस्थामा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टिकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भने अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।
श्रेष्ठले बिहीबार संसदीय दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् । पार्टी विधानका व्यवस्था उल्लंघन गरेर बैठक बोलाउने लगायतका कार्य किन गरेको ? भनी श्रेष्ठले स्पष्टिकरण सोधेकी हुन् ।
स्वास्थ्य अवस्थालगायत काबुबाहिरको परिस्थितिले पार्टीका गतिविधिमा आफू सक्रिय हुन नसकेको अवस्था जानकारी गराउँदा पनि चौधरीले पार्टी विधान विपरीत कार्य गरेको श्रेष्ठले उल्लेख गरेकी छन् । ‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारणले काबुबाहिरको परिस्थिति परि पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा यहाँहरूलाई अवगत नै रहेको छ । यसरी बिरामी परी उपचाररत रहेको अवस्थामा मेरो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत तपाईंको नेतृत्व एवं सक्रिय संलग्नतामा साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकारभन्दा बाहिर गई बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको‘ ले कारबाही किन नगर्ने भनी श्रेष्ठले स्पष्टीकरण सोधेकी हुन् ।
‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आधार कारणयुक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाई कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ,’ उनले स्पष्टीकरण पत्रमा लेखेकी छन् ।