१३ साउन, हेटौंडा : बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।
कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबार हेटौंडामा बसेको बैठकले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन् ।
मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चुन्नका लागि निर्वाचन हुन लागेको हो । नेता लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार प्रदेश कांग्रेस संसदीय दलमा मतविभाजनमा भएको हो । मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात् २२ सांसद देखिए ।
बागमतीमा कांग्रेसका ३७ प्रदेश सांसद छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।