07/23/2025, 04:20:01

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : कांग्रेस महामन्त्री शर्मा


भादगाउँ (भक्तपुर), ६ साउनः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताउनुभएको छ ।

बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने बताउनुभयो ।

महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने बताउनुभयो । “कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन”, उहाँले भन्नुभयो, “राष्ट्रियसभाबाट यसलाई समाधान गरिन्छ । कुलिङ पिरियडलाई प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भएमा वा समितिबाट गरेको सिफारिसविरुद्ध काम भए कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन ।

उहाँले भूमि विधेयकको विषयमा छलफल चलिरहेकाले यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाइने बताउनुभयो । महामन्त्री शर्माले अझै पनि देश बिपी कोइरालाको नीतिमा अगाडि बढेको भन्दै उहाँले कल्पना गरेअनुसारको विकासका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “देश अहिले पनि बिपीले देखाएको बाटोमै छ । उहाँलाई अन्य दल, राजतन्त्र र स्वयम् कांग्रेसले राम्रोसँग बुझ्न सकेको भए देश धेरै अगाडि हुन्थ्यो । दश वर्षे सशस्त्र द्वन्द्व, राजतन्त्रको विदाइ, देशका अगाडि विविध समस्या यो ढङ्गले आउने थिएनन्”, उहाँले भन्नुभयो ।

कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले विभिन्न खालका भ्रम र अफवाहलगायत चुनौतीलाई चिर्दै एक जुट भएर २०८४ को चुनावमा जानुपर्ने बताउनुभयो । उहाँले स्थानीय तथा केन्द्रमा कांग्रेसको बहुमतको सरकार बनाउने लक्ष्य साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस मध्यपुरथिमि सभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुरथिमि उपसभापति अनिल श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।