07/24/2025, 05:48:25

सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल


काठमाडौँ, ६ साउन : सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसद्मा निरन्तर सङ्घर्ष गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग आज छलफल गर्नुभएको छ । उहाँले रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईँहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसद्मा परेको छ । सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु ।

उहाँले सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको कुरा उल्लेख गर्दै हाउस निरन्तर अवरोध हुँदा ती विधेयकलाई अगाडि बढाउन समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको उल्लेख गर्नुभयो । “सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको विन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ”, उहाँले भन्नुभयो ।

रास्वपा कार्यवाहक सभापति अर्यालले भन्नुभयो, “सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् ।

राप्रपा उपाध्यक्ष तामाङ–भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौँ । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन ।