काठमाडौँ, ६ साउनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक भएर गएको बताउनुभएको छ ।
बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतीको आधार बिपी’ विषयक अन्तक्र्रियामा उहाँले बिपीको विचारमा अहिले मुलुक अगाडि बढिरहेको बताउनुभएको हो ।
“बिपीको विचारलाई कांग्रेसले छोड्यो भन्ने यत्रतत्र सुनिन्छ, तर कांग्रेसले बिपीको विचार छाडेको छैन, आज पनि मुलुक बिपीको प्रजातान्त्रिक समाजवादकै बाटोमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो । डा कोइरालाले बिपी कोइरालाको अन्तरराष्ट्रिय छवि राम्रो भएको बताउनुभयो ।
नेता डा कोइरालाले कुलिङ अफ पिरियडको विषयमा कांग्रेस सभापतिले ‘टेक एन्ड पे’ हटाउन पहल गरेजस्तै अडान लिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले बिपी कोइराला विचारमा अडिग नेता भएको बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिन्न पृष्ठभूमिबाट निर्माण भएको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले कुलिङ पिरियडलाई तत्काल सच्याउनुपर्ने बताउनुभयो । महामन्त्री शर्माले भूमि विधेयकलाई सरकारले हतार गर्न नहुने उल्लेख गर्नुभयो ।
उहाँले दुई दलबीच सरकार सञ्चालनका क्रममा भएका विमतीलाई बहस, छलफल र संवाद गरेर टुङ्याउनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतामा बिपी कोइरालाको विचार अन्तरनिहित भएको बताउनुभयो । देश र जनता बलियो हुनुपर्छ भन्ने मान्यता बिपीमा भएको उहाँको भनाइ थियो ।
सहमहामन्त्री डा महतले आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिक पुग्नुपर्छ भन्ने मान्यता कोइरालामा भएको उहाँले बताउनुभयो । उहाँले कांग्रेस र एमालेबीच सरकार गठनका लागि भएको सहमतिअनुसार संविधान संशोधनलाई चाँडो कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको लोकतान्त्रिक राजनीतिकको जग बिपी कोइरालाले निर्माण गरेको बताउनुभयो । नेपाली समाजवादको आधार र बहुदलवाद बिपी कोइरालाले सुरु गरेको उहाँको भनाइ थियो । नेपालको राजनीतिको इतिहास भनेको नेपाली कांग्रेसको इतिहास भएको मन्त्री पौडेलले बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमात्र देश विकासले गति लिने बताउनुभयो । बिपी स्मृति अस्पतालका अध्यक्ष उमेशजङ्ग रायमाझी नेपालको राष्ट्रनायक बिपी कोइराला भएको बताउनुभयो । उहाँले बिपी कोइरालालाई शिक्षा, स्वास्थ्य, साहित्यलगायतका क्षेत्रबाट सँधै स्मरण गर्दै आएको उल्लेख गर्नुभयो ।