07/22/2025, 13:15:18

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरूको जोड


काठमाडौँ, ६ साउन : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा पार्टीका सात पूर्वपदाधिकारीबीच आज भएको बैठकले संविधान संशोधनका लागि सुझाव दिएको हो ।

बैठकमा वर्तमान सरकार गठन हुँदा कांग्रेस र नेकपा (एमाले) बीच भएको संविधान संशोधनको समझदारीलाई अघि बढाउनुपर्ने विषयमा छलफल भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी कांग्रेसले बहस चलाउनुपर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

यसैगरी सरकारले गठबन्धनको भावनाअनुसार थप प्रभावकारी रूपमा जनताका पक्षमा काम गर्नुपर्ने विषयमा छलफल भएको पनि नेता सिटौलाले बताउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री सिंह, नेताहरू सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला र डा प्रकाशशरण महत उपस्थित हुनुहुन्थ्यो ।