07/22/2025, 02:30:19

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई


काठमाडौँ, ५ साउन : मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा आज सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । बङ्गलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । उसले छ खेलबाट १८ अङ्क जोड्यो भने समान खेल खेलेको नेपालको १२ अङ्क मात्रै रह्यो ।

प्रतियोगितामा बङ्गलादेशले नेपाललाई दोस्रोपटक हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बङ्गलादेशले ३–२ को जित निकालेको थियो ।

बङ्गलादेशले यसअघि सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । बङ्गलादेशको जितमा सागोरिका नायक बनिन् । गत जुलाई १३ मा नेपाल र बङ्गलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो । उक्त घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए । रातो कार्ड पाउँदा सामान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो, तर, दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले यी दुई खेलाडीलाई तीन खेलको प्रतिबन्ध र समान ५०० अमेरिकी डलर जरिवाना गरेको थियो ।

खेलको आठौँ मिनेटमै सागोरिकाले गोल गरिन् । त्यसपछि खेलको ५२औँ मिनेटमा उनले आफ्नो टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको छ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन् र ७८औँ मिनेटमा चौथो गोल गरिन् ।