काठमाडौँ, ५ साउन: नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्ने क्रम सुरु भएको हो ।
अध्यक्ष ओलीले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रचार विभाग प्रमुख गौतमका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यले विधान संशोधनका विषयमा धारणा राख्न सुरु भएको छ ।
हालसम्म केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखिसक्नुभएको छ ।
उहाँहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन् । त्यसक्रममा केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताउनुभयो ।
केन्द्रीय सदस्य पहारीले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले मिसन ०८४ मा बहुमत ल्याउनुपर्ने बताउनुभयो ।
आजदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।