07/21/2025, 14:47:03

समाज परिवर्तनको सन्देश दिन ‘महाभोज’ चलचित्र सफल : माओवादी अध्यक्ष प्रचण्ड


काठमाडौँ, ५ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध सङ्घर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताउनुभएको छ ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्र निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले पछिल्लो पुस्ताले सो चलचित्र हेरेर यसको भाव बुझ्न आवश्यक रहेको औँल्याउनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू आज उक्त चलचित्र हेर्न सिटी सेन्टर पुग्नुभएको थियो । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।

प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।

चलचित्र महाभोजका निर्माता हिमाल कडरिया तथा निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहनुभएको छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।