बनियानी (झापा), ३ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
झापाको धुलाबारीमा आज राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उहाँले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताउनुभयो ।
“पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ”, उहाँले भन्नुभयो, “भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।”
अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताउनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सही पार्टी र सही नेतृत्व भए १० वर्षमा देश बन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, धर्म, सांस्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुव शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझा लगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले चन्द्र निरौलाको नेतृत्वमा आगामी चारवर्षे कार्यकालका २१ सदस्यीय नगर समिति चयन गरेको छ ।